१६ वैशाख, हेटौँडा । फुटबल संघ मकवानपुरको आयोजनामा यहि वैशाख १८ गतेबाट हुने मिति तय भएको सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिता एकदिनपछिबाट हुने भएको छ ।
आयोजकले गोल्डकप पूर्वनिर्धारित मिति १८ वैशाखमा नभई एकदिनपछि १९ गतेबाट हुने जानकारी दिएको हो । गोल्डकप प्रतियोगिताका संयोजक प्रताप विष्टले नुवाकोटमा जारी प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताका कारण एकदिन पछि सार्नु परेको बताए । उनले प्रतियोगिता आयोजनाको सम्पूर्ण तयारी पुरा भएको पनि जानकारी दिए ।
यसअघि छैठौं संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको फुटबल संघ मकवानपुरले यस वर्षबाट महिला गोल्डकपको आयोजना गर्न लागेको हो । प्रतियोगितामा तीन विभागीय टोली र ५ वटा जिल्ला गरी ८ टिमको सहभागिता रहने जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ सहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाको महिलो टोलीको सहभागिता रहने छ । नेपाली महिला खेलाडीहरुले पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा समेत राम्रो प्रर्दशन गरिरहेकाले हेटौँडामा पनि महिला खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता गर्न लागिएको अध्यक्ष लामाले स्पष्ट पारे ।
संघका सचिव छवि सुवेदीले प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउने जानकारी दिए । उनका अनुसरा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने छन् । उक्त स्कुटर नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेश सभासद इन्द्रबहादुर बानियाँले प्रायोजन गरेको पनि उनले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकासँगै केहि स्थानीय संघ संस्थाहरु आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको सचिव सुवेदीले बताए । खेल तालिका केही दिनमा सार्वजनिक गरिने भएपनि उद्घाटन खेल चितवन र मकवानपुरको बीचमा हुने आयोजकले जनाएको छ । उद्घाटन खेलको दिन बाहेक अन्य दिनमा प्रतियोगिता हेर्न दर्शकले टिकट काट्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।