१३ जेठ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पत्रकारिता जनविश्वासको आधार बन्नुपर्ने बताएका छन् । लोकतन्त्रमा पत्रकारिताको भूमिका अझ सशक्त र निर्णायक बन्दै गएको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रलाई लोकतन्त्रको गहना भने ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रादेशिक भेलालाई सोमबार हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकार सञ्चार क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको बताए । “सत्य, तथ्य र सन्तुलित सूचना प्रवाहले पत्रकारिताप्रति जनताको भरोसा अझ बलियो बनाउँछ,” उनले भने, “प्रदेश सरकार सञ्चार गृह र पत्रकार संस्थाहरूसँग हातेमालो गरेर अघि बढ्न इच्छुक छ ।”
मुख्यमन्त्री लामाले पत्रकारिताले सरकारका कमजोरी औंल्याई सुधारको बाटो देखाउनुपर्ने र सकारात्मक कामको प्रशंसा गर्दै जनविश्वास बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संघीय सरकारले प्रदेश सरकारलाई प्रशासनिक अधिकार नदिएको गुनासो गरे। “अहिलेसम्म प्रहरीसमेत प्रदेश मातहत छैन,” उनले भने, “संघीयता कार्यान्वयनमा पत्रकारले पनि कलम चलाउनु पर्छ।” लामिछानेले प्रदेश सरकारका मन्त्रालयहरू अझै पनि भाडाका घरमा रहेको र संघीय सरकारले भवन निर्माणका लागि जग्गा नदिएकोप्रति पत्रकारहरूको ध्यानाकर्षण गराउँदै यस्ता विषयमा समाचार लेख्न आग्रह गरे ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खोजमूलक पत्रकारिता अपरिहार्य रहेको बताए। उनले प्रदेश सरकार पत्रकार हितमा सकारात्मक रहेको उल्लेख गर्दै सूचनाको युगमा पत्रकारहरूको भूमिका जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षता रहेको थियो। कार्यक्रममा कोष लेखा नियन्त्रक हरी उपाध्यायले लेखा प्रणालीबारे प्रस्तुति दिएका थिए भने संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गरे।
भेलामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, निवर्तमान अध्यक्ष शिव देवकोटा, प्रेस चौतारी प्रदेश अध्यक्ष तिलक रिमाल, प्रेस सेन्टरका अध्यक्ष ध्रुव अधिकारी, फोनिज बागमती अध्यक्ष युवराज श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । दुई दिनसम्म चल्ने भेलामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट महासंघका अध्यक्ष, सचिव, कोषाध्यक्षहरूको सहभागिता रहेको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।