४ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै कालो मोबिल छ्यापिएको छ ।
बुधबार अपराह्न ४ बजेतिर हेटौंडा-१ चाइना क्वाटरस्थित वडा कार्यालयमा बसेका अध्यक्ष न्यौपानेमाथि ३/४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले मोबिल छ्यापेर फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ती व्यक्ति नम्बर नखुलेका दुईवटा मोटरसाइकलमा कार्यालयमा आएर अध्यक्षमाथि मोबिल छ्यापेर भागेका हुन् ।
प्रहरीका अनुसार अध्यक्ष न्यौपानेको टाउको, शरीर र कपडामा कालो मोबिल छ्यापिएको छ । घटनापछि फरार व्यक्तिहरुको खोजी तीव्र पारिएको प्रवक्ता अर्यालले जानकारी दिए ।
मोबिल प्रहारको कारण भूमिहीन सुकुम्बासी व्यवस्थापनसम्बन्धी विवाद हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनास्थलमा ‘भूमिहीन सुकुम्बासी’ शीर्षक लेखिएको खाली रेकर्ड फाइलसमेत फेला परेको छ प्रहरीले जनाएको छ ।
उपमहानगरपालिकाले केही समयदेखि हेटौंडा अस्पताल पछाडि स्वर्गलोक क्षेत्रमा रहेको सार्वजनिक जमिनमा निर्माण गरिएका अवैध टहरा हटाउन अभियान सञ्चालन गरिरहेको थियो ।
सोही बिषयलाई लिएर असन्तुष्ट भएकाहरुले वडा अध्यक्ष न्यौपानेमाथि आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।
केही समयअघि उपमहानगरपालिकाको कार्यपालिका बैठकले स्थानीय तह सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिता २०७४ लगायतका कानुनको पालना गर्दै सार्वजनिक जमिनको संरक्षणका लागि कदम चालेको थियो ।
प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज संकलन गरी विश्लेषण कार्य अघि बढाएको र आक्रमणकारीको पहिचान तथा पक्राउका लागि अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।