४ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले बुधबार दिउँसो हेटौँडा १ का वडा अध्यक्ष सविन न्यौपानेमाथी भएको आक्रमणको निन्दा गर्दै दोषीमाथी कारवाहीको माग गरेको छ । बैठकले यो गैरराजनीतिक, नियोजित आक्रमण भएको ठहर गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको हो ।
वडाध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै बुधवार दिउँसो सांघातिक आक्रमण भएको थियो । चाइना क्वाटरस्थित वडा कार्यालयमा अपरिचित ३–४ जनाको समूहले उनीमाथी कुटपिट गर्नुका साथै मोबिल छ्यापेका थिए ।
घटनाको बिषयमा बोल्दै मेयर मिना लामाले वडाध्यक्षमाथिको आक्रमण गम्भीर र आपत्तिजनक भएको बताएकी छन् । ‘समस्या समाधानका वैधानिक बाटो हुँदाहुँदै ज्यानै लिने शैलीको आक्रमण स्वीकार्य छैन ।’उनले दोषीमाथि कडा कारबाही हुनुपर्ने माग राखेकी छन् ।
कार्यपालिका बैठकपछि घटनाको बारेमा जानकारी दिँदै वडा अध्यक्ष न्यौपानेले दुईवटा नम्बर नखुलेका मोटरसाइकलमा आएका ३–४ जनाको समूहले आफुमाथी आक्रमण गरेको बताए । उनका अनुसार ती व्यक्तिहरुले टाउको, शरीर र कपडामा कालो मोबिल छ्याप्नुका साथै अनुहार र टाउकोमा मुक्का प्रहारसमेत गरेका थिए ।
घटनामा वडा अध्यक्षको टाउकोमा चोट लागेको छ । न्यौपानेले कार्यकक्षमा बसेको अवस्थामा भूमिहीन सुकुम्बासी समस्या लिएर आएको भन्दै केही व्यक्तिहरू प्रवेश गरी आक्रमण गरेको उनको भनाई छ । ‘उनीहरूले मलाई एउटा फाइल देखाए । म फाइल हेर्दै थिएँ, एक्कासि मोबिल प्रहार गरे । बच्न खोज्दा मुख र टाउकोमा मुक्का हान्दै भागे ।’ वडा अध्यक्ष न्पौपानेले भने ।
उपमहानगरपालिकाले हालै अस्पतालपछाडि स्वर्गलोक क्षेत्रमा अवैध रूपमा बनाइएका टहरा हटाउने अभियान थालेको थियो । सोही विषयमा असन्तुष्टि राख्दै आक्रमण भएको प्रारम्भिक अनुमान गरिएको छ। केही समयअघि कार्यपालिका बैठकले सार्वजनिक जग्गाको संरक्षणलाई प्राथमिकता दिने निर्णय लिएको थियो।
यसैबिच जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले घटनाको बारेमा आवस्यक अनुसन्धान सुरु गरिसेको जानकारी दिए । घटनास्थलको सिसिटिभी फुटेज संकलन गरी विश्लेषण भइरहेको उनको भनाई छ । यस्तै आक्रमणकारीहरूले अध्यक्ष न्यौपानेका दुई मोबाइलसमेत लिएर फरार भएकाले मोबाइल ट्रयाकिङमार्फत लोकेसन पत्ता लगाउँदै खोजी कार्य तीव्र पारिएको उनको भनाइ छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।