३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन्, जसमा ३ जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज दिउँसो करिब २ः५० बजे तनहुँस्थित २ नम्बर राजदल गणबाट धनुषातर्फ गइरहेका ४ वटा सेनाका ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
उप सेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा गइरहेका ट्रकहरू मध्ये एक ट्रक पुलबाट करिब १०/१२ फिट तल खोल्सामा खसेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको कमाण्डमा प्रहरी टोली, जिल्ला ट्राफिक कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर, रातोमाटे प्रहरी चौकी र अमलेखगञ्ज (बारा) बाट खटिएका टोलीले नेपाली सेनासँगको सहकार्यमा उद्धार गरेका थिए ।
उद्धार गरिएका १६ जना घाइतेलाई हेटौडा अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेमध्येका केहीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार घाइते सबैजना सैनिक पोशाक (युनिफर्म) मै रहेका थिए । दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।