१ असोज, हेटौंडा । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले जेनजी आन्दोलनपछि उत्पन्न अस्तिर परिस्थितिको अन्त्य गरी समाजमा शान्ति र सहकार्य कायम गर्न सबैलाई आह्वान गरेको छ । सुशासनको मागसहित जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दे घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
बैठकले आन्दोलनकै क्रममा संघीय तथा प्रदेश तहका संरचना, सुरक्षा निकायका कार्यालय, सञ्चार गृह, औद्योगिक प्रतिष्ठान, व्यापारी केन्द्र, विभिन्न राजनीतिक दलका कार्यालय, नेतृत्वको निजी आवास तथा सवारी साधनमा भएको तोडफोड र आगजनीप्रति बैठकले कडा आपत्ति जनाएको छ ।
प्रदेश सभापति एवं प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणको भत्सर्ना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न माग गरेको छ ।
बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक मूल्य र लोकतान्त्रिक परिपाटीअनुसार देखाउनुभएको दृढता र मुलुकलाई निकास दिनुभएको भूमिकाप्रति उच्च सम्मान प्रकट गरेको छ ।
साथै असोज ३ गते संविधान दिवसलाई संयमित, शान्त र संविधानको महत्व दर्साउने गरी मनाउन सरकारलाई सुझाव दिएको छ । प्रदेशसभामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न सांसदहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र सामाजिक अभियन्तासँग सहकार्य गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।
यस्तै, संसद सञ्चालनका क्रममा अन्य दलहरूसँग संवाद र सहकार्य गर्दै आवश्यक निर्णयहरू गर्ने तथा संसदीय समितिलाई अझ सक्रिय बनाउने निर्णय पनि बैठकले गरेको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।