२ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी निर्वाचन नजिकिँदै गर्दा ‘भ्रम छर्ने’ र ‘मिठा भाषण सुनाउने’ नेताहरूबाट सचेत रहन मतदातालाई आग्रह गरेका छन् । उनले काम नगर्ने तर सामाजिक सञ्जालमा आकर्षक भाषण मात्र गर्ने पात्रहरूबाट जनता भ्रमित हुन नहुने बताए ।
मंगलबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ तल्लो मकरीस्थित राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलानको सुरुवात कार्यक्रममा मुख्यमन्त्री बानियाँले निर्वाचनको बेला देखिने भ्रम फैलाउने प्रवृत्तिबाट जनता जागरूक हुनुपर्नेमा जोड दिए । ‘फेसबुक–युट्युबमा राम्रा भाषण गर्ने तर व्यवहारमा काम नगर्ने धेरै हुन्छन्,’ उनले भने, ‘जनताले अब यस्ता पात्रलाई चिन्नुपर्छ । कुरा र काम दुवै गर्नेलाई रोज्नुपर्छ ।’
उनले भ्रम सिर्जना गर्ने व्यक्ति तथा दललाई गाउँ–गाउँबाट नै लखेट्नुपर्ने उल्लेख गर्दै जनताले नेतासँग गरेको काम र आगामी लक्ष्य दुवै प्रश्न गर्नुपर्ने सुझाब दिए । बानियाँका अनुसार बागमती प्रदेश सरकारले न्यायमुखी, गाउँमुखी र विकासमुखी कामलाई प्राथमिकतामा राखेको छ र आगामी बजेट पनि यिनै कार्यक्रम लक्षित हुने छ । प्रदेश सरकार नागरिकलाई सीप, तालिम र रोजगारीसँग जोडिने कार्यक्रमलाई अघि बढाइरहेको उल्लेख गर्दै उनले नागरिकले दिएको मतको अवमूल्यन हुन नदिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकाले आयआर्जन, सीप अभिवृद्धि र स्वरोजगार प्रवद्र्धनमा केन्द्रित भएर काम गरिरहेको जानकारी गराए । उनका अनुसार किसानलाई दुग्ध बिक्रीबापतको रकम समयमा उपलब्ध गराउन गाउँपालिकाले डेरी उद्योगसँग सम्झौता गरी काम अघि बढाएको छ। दुग्ध किसानलाई अनुदान र समयमै भुक्तानको व्यवस्था भएपछि गाउँमा गाईभैंसी पाल्ने किसानको संख्या उल्लेख्य रूपमा बढेको उनले बताए।
साथै, विपन्न नागरिकलाई काजकिरिया खर्च उपलब्ध गराउने कार्यक्रमले स्थानीय सरकारप्रतिको विश्वास थप बलियो बनेको उनले बताए।
बागमती प्रदेशको बजेटबाट मनहरी गाउँपालिका–१ मा तल्लो मकरी–राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलानको काम सुरु भएको हो । ६ मिटर चौडाइ र ७३२ मिटर लम्बाइ भएको सडक स्ल्याब ढलानका लागि मुख्यमन्त्री बानियाँले कंक्रिट बिच्छ्याउने कार्यको औपचारिक सुरुवात गरे ।
७४ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सो परियोजना गुनी निर्माण सेवाले निर्माण गरिरहेको छ । सडक निर्माणको शिलान्यास मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।