९ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा साउन २० गते गठन भएको सरकारले एक सय दिन पुरा गरेको छ । राजनीतिक संक्रमण, जेन–जी आन्दोलन, अविरल वर्षा तथा चाडपर्वकाबीच पनि सुशासन, पूर्वाधार निर्माण, शिक्षा–स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै मंगलबार मुख्यमन्त्री बानियाँले सरकारको प्रगति विवरणसार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री बानियाँले कानूनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै ३ वटा कानून संशोधन, प्रशासनिक संरचना पुनर्संरचना, दुर्गम तथा सीमान्तकृत समुदायका लागि गास–वास–कपास सुनिश्चितता तथा विपन्न विद्यार्थीका लागि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम अघि बढाएको उल्लेख गरका छन् । उनले यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय समिति गठन गर्नुका साथै अवरुद्ध प्रादेशिक अर्थ–व्यवस्था विधेयक तथा खानेपानी विधेयक दर्ता प्रक्रियासमेत अघि बढाइएको बताए ।
सुशासन प्रवद्र्धनका लागि मन्त्रीदेखि शाखा प्रमुखसम्म कार्यसम्पादन करार प्रणाली लागू गरिएको उनले जानकारी दिए । स्थानीय तहसँग समन्वय, कर्मचारी क्षमता विकास, सरकारी कामकाजमा तमाङ र नेपाली भाषाको द्विभाषिक अनुवाद प्रणाली, नो हेल्मेट नो फ्युुल अभियान जस्ता कार्यक्रमलाई सक्रिय रूपमा अघि बढाइएको उल्लेख गरे ।
यसविच अविरल वर्षा, पहिरो तथा जेन–जी आन्दोलनका घटनामा सरकार तीव्र रूपमा सक्रिय रहेको मुख्यमन्त्री बानियाँले बताए । मनसुनपूर्व तयारी तथा प्रतिकार्य योजना लागू गर्दै १३ वटै जिल्लामा विपद व्यवस्थापन कोषमा रकम विनियोजन, क्षतिग्रस्त संरचना पहिचान तथा पुनर्निर्माण, आन्दोलनमा जलेका प्रहरी सवारीसाधन किन्न २ करोड ७५ लाख विनियोजन, नेपाल प्रहरी–सशस्त्र प्रहरी संरचना सुधारमा १५ करोडभन्दा बढी लगानी गरिएको मुख्यमन्त्री बानियाँले जानकारी दिए ।
भौतिक पूर्वाधार विकासका क्षेत्रमा सय दिनभित्र ११।५ किलोमिटर सडक कालोपत्रे, ६।७४ किलोमिटर ढलान, ५ किलोमिटर ग्राभेल तथा ५ वटा पुल निर्माण गरेको उनले बताए । १९२ किलोमिटर सडक मर्मत, चेपाङ, बनकरिया, माझी, बोटे समुदायका ३६ घर निर्माण तथा पाँच सामुदायिक भवन निर्माणका काम अघि बढाइएको पनि मुख्यमन्त्री बानियाँले आफ्नो सय दिनको उपलब्धिमा समावेश गराएका छन् । यस्तै शहरी विकास नीति, जग्गा एकीकरण ऐन, फोहोर व्यवस्थापन तथा क्लाइमेट–रेजिलियन्ट गाइडलाइनका विषयमा विशेष टोली गठन गरी अध्ययन र कार्यान्वयन प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरेको, भक्तपुर अस्पतालमा डायलाइसिस सेवा सुरु, प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी, क्यान्सर पीडितलाई ५० हजारसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल तथा १३ अस्पतालसँग सम्झौता, ग्रामीण क्षेत्रमा पोर्टेबल अल्ट्रासाउन्ड सुविधा, आयुर्वेद औषधि उत्पादनमा १० नवीन उत्पादक क्षमता विस्तार, जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचार, मनहरी–९ की मिठुमाया सुनारलाई आफ्नै आर्थिक लगानीमा निर्माण गरिएको घर हस्तान्तरणजस्ता गतिविधि सय दिनको मुख्य उपलब्धि भएको मुख्यमन्त्री बानियाँले दावी गरे ।
कृषि तथा पशुपालन क्षेत्रमा अविरल वर्षाको क्षति न्यूनिकरणका लागि राहत कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ । लम्पी स्किन रोगविरुद्ध ९६ हजार ३४७ डोज खोप, २२ पशु अस्पताल भवन निर्माण, भेटेरिनरी सेवा विस्तार, कृषि थोक बजार निर्देशिका निर्माण तथा मकवानपुर–सिन्धुलीलाई खोरेत–मुक्त क्षेत्र घोषणा प्रक्रिया अघि बढाइएको बिषयलाई पनि मुख्यमन्त्री बानियाँले सय दिने उपलब्धि भनेका छन् ।
यसैगरी उद्योग, व्यापार तथा श्रम क्षेत्रमा दुई हजार ६६७ नयाँ उद्योग–व्यापार दर्ता, ७१२ व्यवसाय अनुगमन, ‘एक वडा–एक उद्यम’ कार्यक्रम कार्यान्वयन, ३५ लाख कागजात डिजिटाइजेसन अभियान र यातायात कागजातमा जरिवाना छुट तथा पुनर्निर्माण व्यवस्था यहि सय दिनभित्र लागू मुख्यमन्त्री बानियाँको भनाई छ ।
युवा, खेलकुद तथा पर्यटन क्षेत्रमा ५० योजनाको लागत अनुमान तयार पारेको, आठ पर्यटन पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण गरेको, ५३७ जना नयाँ गाइड, होटल तथा एजेन्सी दर्ता, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट हस्तान्तरण, पाँच सय विद्यार्थीलाई साइबरक्राइम तथा लागुऔषध सचेतना कार्यक्रम सञ्चालन गरिएको पनि उनले उल्लेख गरेका छन् ।
मुख्यमन्त्री बानियाँले सय दिनको समीक्षा प्रस्तुत गर्दै सरकार नागरिकले महसुस गर्ने नतिजामुखी कार्यप्रति प्रतिबद्ध रहेको दावी गरे । सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा जनतामुखी कार्यक्रमलाई गति दिन सरकार तयार रहेको उनको भनाई छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।