१० मङ्सिर, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोलामा निर्माण हुने मल्टिसेल बक्स पुलको बुधबार शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७५४ रुपैयाँ लागतमा निर्माण हुने पुलको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् ।
१२० मिटर लामो पक्की पुलका लागि कुल ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले ६ करोड ८९ लाख ४९ हजार ७५४ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । २०८२ असार ८ गते सम्झौता भएको आयोजना २०८४ असार ७ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका का अध्यक्ष धर्म लामिछानेले जानकारी दिए ।
पुल निर्माण भएपछि बकैयाको वडा नम्बर ५ र ६ का करीब ८ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अध्यक्ष लामिछानेले बताए । पुल नहुँदा वर्षायाममा बकैया–६ का विद्यार्थीलाई विद्यालय आवत–जावतमा कठिनाइ हुँदै आएको थियो । निर्माण सम्पन्न भएपछि किसान, विद्यार्थी, स्थानीयवासी तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय पर्यटन पार्कसम्म पहुँच सहज हुने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री बानियाँले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै संघीयताले विकासलाई गति दिएको दाबी गरे । उनले जेनजी पुस्ताको आन्दोलनले देशमा जनधनको क्षति पुगेको उल्लेख गर्दै युवाको माग सम्बोधन गर्दै भ्रष्टाचारमुक्त, सुशासन युक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा सहभागी बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटाले विशेष परिस्थितिमा बजेट विनियोजन भई पुल निर्माण कार्य अघि बढेको जानकारी दिए । उनले आर्थिक–सामाजिक रूपान्तरणका लागि उत्पादनसँग जोडिन प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्व अध्यक्ष दामोदर खनाल, पूर्व उपाध्यक्ष सरला बोलखे सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।