१० मङ्सिर, हेटौँडा । हेटौंडा बजार क्षेत्रमा लामो समयदेखि विवाद हुँदै आएको सडक विस्तार प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रशासनले सक्रिय पहल थालेको छ । पटक(पटक सूचना प्रकाशनमा मात्र सीमित हुँदै आएको सडक विस्तार कार्यलाई कार्यान्वयनतर्फ अघि बढाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरोकारवाला सबै निकायको संयुक्त सहभागितासहित विशेष ‘टास्क फोर्स’ गठन गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार बसेको बैठकले सडक विस्तारलाई तीव्रता दिन सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गरेको छ । उक्त टोलीमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित कार्यालयका प्रतिनिधिहरू सदस्य रहेका छन् । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै रहने व्यवस्था गरिएको छ ।
समितिले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत सडक सीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनाहरूको रेखांकन गर्ने, रंग लगाउने तथा आवश्यक कानुनी कारबाही अघि बढाउने जिम्मेवारी पाएको छ । टोलीले बुधबारबाटै माइकिङसहित प्रारम्भिक काम सुरु गरिसकेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सडक विस्तारका क्रममा विद्युत, खानेपानी, टेलिफोनजस्ता अत्यावश्यक सेवा अवरुद्ध नहोस् भनी सम्बन्धित कार्यालयहरूसँग निरन्तर समन्वय भइरहेकाले काम सहज हुने अपेक्षा गरिएको छ ।
उनले प्रदेश राजधानीसमेत रहेको हेटौंडालाई सुरक्षित, सुन्दर र बस्न योग्य शहरका रूपमा विकास गर्न सडक विस्तार अनिवार्य भएको बताए । एसियाली विकास बैंक ९एडिबी० बाट आवश्यक स्रोत सुनिश्चित भइसकेकाले अब यो आयोजना कुनै हालतमा नरोकिने उनको भनाइ छ । ‘सुन्दर शहर निर्माणको अभियानमा सबै सकारात्मक रुपमा सहभागी बनौँ। सीमा क्षेत्रभित्र पर्ने संरचना घरधनी स्वयंले हटाइदिए सडक विस्तार अझ सहज हुन्छ,’ प्रजिअ अधिकारीले बताए । उनले सबैलाई जितको अनुभूति हुने गरी पारदर्शी र प्रभावकारी ढंगले काम अघि बढाइने उल्लेख गरे ।
सडक डिभिजन कार्यालय हेटौंडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन १५ दिनको समय दिएको छ । रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्य भागबाट दायाँ(बायाँ २५र२५ गजभित्र पर्ने स्थायी तथा अस्थायी संरचना स्वतः हटाउन आग्रह गरिएको छ । सूचना अवधि सकिएपछि भने कानुनी कारबाहीका आधारमा संरचना हटाइने चेतावनी समेत दिइएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।