क्षेत्र नम्बर २ मा कांग्रेसलाई बलियो बनाउने दाबी
१८ फागुन, हेटौँडा – मकवानपुरको राक्सिराङ गाउँपालिका–५ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् । आज वडा नम्बर ५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका कांग्रेस मकवानपुरका सभापति तथा क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामाको उपस्थितिमा उनीहरू पार्टी प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टी ९जसपा०का पूर्व वडाध्यक्ष राजु प्रजा, पूर्व केन्द्रीय सदस्य राजेन्द्र प्रजा, पूर्व प्रदेश सदस्य सागर प्रजा तथा नेकपा एमालेका स्थानीय नेता होमराज प्रजा, मदनकुमार मोक्तान, निरोज मोक्तान र तिलक प्रजा रहेका छन् ।
नवप्रवेशीहरूलाई कांग्रेस सभापति लामा, पार्टी सचिव ईश्वर पाठक तथा नेता भरत पराजुली लगायतले खादा तथा माला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै सभापति लामाले राक्सिराङमा कांग्रेसप्रति जनताको भरोसा बढ्दै गएको दाबी गरे । उनले विकास, सुशासन र स्थायित्वका लागि कांग्रेसलाई बलियो बनाउनु आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा क्षेत्र नम्बर २ मा कांग्रेसको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
नवप्रवेशी नेताहरूले आफूहरूले लामो समय विभिन्न दलमा रहेर काम गरे पनि स्थानीय विकास र जनअपेक्षा अनुसार परिणाम नआएकाले कांग्रेस रोजेको बताएका छन् । उनीहरूले राक्सिराङको शिक्षा, स्वास्थ्य, सडक र रोजगारीका क्षेत्रमा ठोस पहल गर्न कांग्रेस नेतृत्वसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । चुनावी माहोल तीव्र बन्दै जाँदा मकवानपुरको क्षेत्र नम्बर २ मा दलहरूबीच प्रतिस्पर्धा झन् चर्किँदै गएको देखिएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।