२४ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले त्रास र डरमा आधारित नेतृत्वबाट समाजको विकास सम्भव नभएको बताएकी छन् नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबार सम्पन्न सञ्चार क्षेत्रमा प्रविधिले ल्याएका चुनौती र अवसरू विषयक कार्यशाला गोष्ठीमा प्रमुख अतिथिका रूपमा बोल्दै उनले सञ्चारकर्मीहरूले सकारात्मक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखिन्।
“समाजमा मानवता हराउँदै गएको छ। यस्तो अवस्थामा सञ्चारकर्मीले नेताहरूको दृष्टिकोण जनस्तरसम्म पुर्याउनुका साथै जनतालाई सुसूचित गरेर नेतृत्वलाई जवाफदेही बनाउने गरी कलम चलाउनुपर्छ,” नगर प्रमुख लामाले भनिन्। उनले वर्तमान संविधान र व्यवस्थामाथि जनताको नकारात्मक दृष्टिकोण बन्न थालेको उल्लेख गर्दै सञ्चारकर्मीहरूले जनचेतना फैलाउन अग्रसर हुनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगरेकोप्रति सरकारप्रति आलोचना गर्दै पत्रकारिताको सुरक्षा सुनिश्चित गर्न राज्यमाथि दबाब सिर्जना गर्नुपर्ने बताए। “प्रविधिको तीव्र विकासले पत्रकारितामा नयाँ चुनौतीहरू थपिएको छ। यस्तो अवस्थामा पनि पत्रकारले आचारसंहिता र मूल्य मान्यतालाई ध्यान दिनुपर्छ,” महासचिव दाहालले भने।
बागमती प्रदेश पत्रकार महासंघका अध्यक्ष कृष्ण सारु मगरले परम्परागत पत्रकारिता संकटमा परेको बताउँदै सञ्चार माध्यमहरूले प्रविधिको अनुकूलन गर्नुपर्ने आवश्यकता औंल्याए। गोष्ठीमा सञ्चार रजिष्ट्रार रेवती सापकोटाले एआई (कृत्रिम बुद्धिमत्ता) को चुनौती र सम्भावनाबारे प्रस्तुति दिएका थिए भने महासचिव दाहालले विपद् पत्रकारिता र आचारसंहिता सम्बन्धी प्रशिक्षण दिएका थिए।
कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं, सल्लाहकार अञ्जली थापा, पूर्व अध्यक्षहरू, विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।