२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रेन्ड्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार बागमती– ४ स्थित सहिद स्मृति रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्स क्लबले काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो। टाइब्रेकरमा प्लानिङ ब्वाइजका कप्तान फागुराम थारू र शिशिरले मात्र गोल गर्न सके भने प्रतापसिंह राई, पुजन थापा र निङमा घिसिङका प्रहार असफल भए।
यता फ्रेन्ड्स क्लबका सुदर्शन श्रेष्ठ, प्रशान्त लक्ष्मी र दीपेश गुरुङले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए। कप्तान रुपेश केसी र योगेश गुरुङका प्रहार भने गोलमा परिणत हुन सकेनन्।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका फ्रेन्ड्सका महेन्द्र कार्की ‘प्लेयर अफ दी म्याच’ घोषित भए। उनले नगद १० हजार पुरस्कार प्राप्त गरे। जितसँगै फ्रेन्ड्स क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गर्दै फाइनल प्रवेशका लागि सर्लाहीको बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल वैशाख २३ र २४ गते तथा फाइनल खेल वैशाख २६ गते हुनेछ। आयोजकसहित १० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।