२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बुधबार सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरको फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै बागमतीले उपाधिनजिकको यात्रा तय गरेको हो।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट टुंगिएको हो। खेलको पहिलो हाफमै फ्रेन्ड्स क्लबले अग्रता लिएको थियो। कप्तान रुपेश केसीले ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए। तर, दोस्रो हाफको अन्तिम समयमा बागमतीले बराबरी गरेपछि खेल टाइब्रेकरमा धकेलिएको हो। ८५औँ मिनेटमा आयुष मगरले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ मा ल्याएका थिए।
टाइब्रेकरमा बागमतीका अनिष महर्जन, भूपाल मगर, आयुष मगर, अमन लामा र युवराज ढकालले सफल प्रहार गर्दै टोलीलाई फाइनलमा पुर्याए।
फ्रेन्ड्सका लागि सुजन चौधरी, राजेश दाहाल, विवेक मगर र रुपेश केसीले गोल गरे पनि प्रशान्त लक्षमको प्रहार बाहिरिएपछि टोली पराजित भयो। उत्कृष्ट प्रदर्शन गरेका बागमतीका आयुष मगर ‘प्लेयर अफ दी म्याच’ घोषित भए। उनले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
बागमतीको लगातार उत्कृष्ट प्रदर्शन
बागमती युथले प्रतियोगितामा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो। उसले क्वार्टरफाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समितिलाई पराजित गरेको थियो भने क्वार्टरफाइनलमा सातौँ संस्करणको विजेता चर्च ब्वाइज युनाइटेडलाई हराउँदै अन्तिम चारमा पुगेको थियो।
अब बागमती युथले फाइनलमा चित्लाङ एफसी र नवजनजागृति क्लब ९सिमरा०बिचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल बिहीबार हुनेछ।
प्रतियोगिताको फाइनल खेल वैशाख २६ गते हुनेछ। विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार रुपैयाँ प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।