९ फागुन, हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय मेलमिलापको राजाको प्रस्तावलाई सबैले सकारात्मक ढंगले लिन आग्रह गरेका छन् । शुक्रवार हेटौँडामा भएको राप्रपा नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले नेकपा एमाले, कांग्रेस, माओवादी लगायतका दललाई पुर्व राजा ज्ञानेन्द्र शाहको प्रस्तावलाई सकरात्मक लिन आग्रह गरेका हुन् ।
उनले अहिलेको अवस्थामा कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको मेलमिलाप नीति जरुरी भएको औंल्याए । वीपीको मेलमिलापको निति अवलम्बन गर्न नसक्दा राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको उनको दावी छ । ‘देश बचाउन राजा र जनताको साझेदारी आवश्यक छ,’ उनले भने, ‘अहिलेको अवस्थामा वीपी कोइरालाको मेलमिलाप नीति अपरिहार्य देखिन्छ । वीपीको मेलमिलापको निति अवलम्बन गर्न नसक्दा राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको छ ।’
अध्यक्ष थापाले प्रजातन्त्र दिवसका अवसरमा पूर्व राज ज्ञानेन्द्रले दिएको सकारात्मक सन्देशलाई केही नेताहरूले कटाक्ष गरेको भन्दै संविधानले दिएको बिचार र स्वतन्त्रताको अधिकारमाथी अतिक्रमण गर्न खोज्नु गलत भएको टिप्पणी गरे । उनले पूर्व राजा शाहको सन्देश कुनै पार्टी र सरकारको विरुद्धमा नभएको दावी गरे । मुलुकले भोग्नुपरेको संकटको मुक्तिको निम्ति र प्रजातन्त्रलाई बलियो बनाउने तर्फ सोच्न पूर्व राजाले आग्रह गरेको उनको भनाई छ । सम्पूर्ण दोष राजालाई देखाएर आफ्नो गल्ती ढाकछोप नगर्न पनि उनले राजनीतिक दलहरुलाई चेतावनी दिए ।
अध्यक्ष थापाले पूर्व राजाको एउटै आह्वानमा नेपाली जनता सडकमा उत्रिन सक्ने समेत जिकिर गरे । अध्यक्ष थापाले राजेन्द्र लिङदेन र दिपकबहादुर सिंह तर्फ संकेत गर्दै महाधिवेशनको म्याडेण्ट विपरीत राप्रपा सरकारमा गएको आरोप लगाए । उनले आफु पार्टी एकताको पक्षमा भएपनि लिङदेन र सिंहले अपमानजनक ढंगले हेटौंडामा केही समयअघि एकताको विरुद्धमा अभिव्यक्ति दिएको बताए । अध्यक्ष थापाले सबै हिन्दुवादी, राष्ट्रवादी दलहरु मिलेर पूर्व राजाको आह्वानलाई साकारा पार्नुपर्नेमा जोड दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।