१८ फागुन, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले शनिबार एउटा साहित्यिक कार्यक्रमबिच विभिन्न विधाका ११ जनालाई पुरस्कार र सम्मान प्रदान गरेको छ।
प्रतिष्ठानले चारजनालाई साहित्य, संगीत, गायन र कलाकारिता बिधामा राष्ट्रिय पुरस्कार प्रदान गरेको छ भने ७ जनालाई विभिन्न बिधामा सम्मान समर्पण गरेको छ ।
भीम विराग राष्ट्रिय साहित्य पुरस्कारबाट काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय संगीत पुरस्कारबाट रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कारबाट मकवानपुरका कलाकार भोलाराज सापकोटा र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कारबाट काठमाडौंका पत्रकार-साहित्यकार ठाकुर बेल्वासेलाई सम्मान गरेको छ । प्रत्येक विधाका पुरस्कृतलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
यसैगरी, प्रतिष्ठानले १५ हजार राशिको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी सम्मानबाट मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ, शिला नारी सम्मानबाट मकवानपुरकी महिला उद्यमी मेनका श्रेष्ठ, चिनुकुमारी लामा स्मृति साहित्य सम्मानबाट मकवानपुरका साहित्यकार–बाल साहित्य अभियानकर्मी दीपक गौतमलाई सम्मान गरेको छ ।
यस्तै, २० हजार राशिको रामकृष्ण बानियाँ स्मृति लोक संगीत सम्मानबाट पर्वतका लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई सम्मान गरिएको छ भने १० हजार राशिको भीम–मथुरा बाल प्रतिभा सम्मानबाट मकवानपुरकी विद्यार्थी रीतिका छत्कुली, मंगलादेवी स्मृति स्वास्थ्य सेवा सम्मानबाट मकवानपुरकी स्वास्थ्यकर्मी निर्मला ब्लोन, अजित सेन–कमलेश्वरी गुप्ता भिन्न क्षमता सम्मानबाट मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई सम्मान गरिएको छ ।
पुरस्कृत एवं सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि एवं हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ, प्रतिष्ठानका पुर्व अध्यक्ष ह्यग्रीभ आचार्य लगाएतले पुरस्कार एवं सम्मान प्रदान गरेको प्रतिष्ठानका महासचिव छवि अनित्यले जानकारी दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।