१८ चैत, हेटौँडा । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुरले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत दोषीलाई कारवाहीको माग गरेका छन् ।
सोमबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई भेटी मकवानपुरका पत्रकारहरुले ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई कारवाहीको माग गरेका हुन् । मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशका उपाध्यक्ष हरि हुँमागाईँले राजावादीहरुको प्रर्शन उग्र बन्दा समाचार संकलनका क्रममा पत्रकारको हत्या र आमसञ्चार माध्यममा आक्रमण हुनु दुःखद भएको बताए ।
उनले शुक्रबारको घटनामा एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु नभई हत्या भएको दावी गरे । पत्रकार हत्या, कुटपिट र सञ्चारगृहमा भएको आगजनी तथा तोडफोडका घटनामा संलग्न जो कोहिलाई तत्काल पक्राउ गरी दोषीलाई कडा भन्दा कडा कारवाही र पिडीतलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

यस्तै मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण नियोजित रूपमा भएको र यस्तो निन्दनिय कार्यको पत्रकार महासंघ मकवानपुरले घोर भत्र्सना गर्ने बताए । उनले नागरिक समाजको अग्रणी संस्थाको रूपमा रहेको पत्रकार महासंघ राजनीतिक रंगमा हुने अवाञ्छित र अराजक गतिविधि सदैव विरोधमा रहेको उल्लेख गर्दै दोषी उपर कडा कारवाहीको माग गरे ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री लामाले आमसञ्चार क्षेत्र र प्रदेश सरकार दुबै लोकतन्त्रको अभिन्न अंग हुनुका साथै एकअर्काको परिपुरक भएकाले राजावादीको नाममा सञ्चार क्षेत्रमा भएको आक्रमणको विरोध गर्ने बताए । उनले प्रदेश सरकारकातर्फबाट आफुले पत्रकार र सञ्चारगृहका सुरक्षाको लागि खेल्नुपर्ने भूमिकाको लागि सदैब तत्पर रहेको स्पष्ट पारे ।
यस्तै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पनि आम सञ्चार क्षेत्रमाथी भएको आक्रमणबाट आफु दुःखीत भएको उल्लेख गर्दै पत्रकारीता क्षेत्रको सुरक्षाको लागि आफु तयार रहेको र पत्रकारहरुको माग माथिल्लो तहसम्म पु¥याउन प्रतिवद्ध रहेको बताईन् । ध्यानाकर्षण पत्र बुझाउने कार्यत्रममा पत्रकार महासंघ बागमती प्रदेशका पुर्व अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणी दाहाल लगाएत विभिन्न पत्रकार संगठनका प्रमुख एवं प्रतिनिधि तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।