३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा पुगेसँगै बंजर जमिनमा खेती गर्न सकिने भएपछि त्यहाँका किसानहरू निकै खुशी भएका छन् । खेतीपाती गर्न आकाशे पानीको भर पर्दै आएका किसानको खेतसम्म सिँचाई सुबिधा पुगेपछि उनीहरु खुशी भएका हुन् ।
आकाशे पानीको भरमा वर्षको एक मात्र बाली लगाउने किसानहरू अब वर्षै भरि खेती गर्न पाउने आशामा छन् । सिँचाई उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेले सिँचाईको सुविधा भएपछि अन्नबालि मात्र नभई मौसम अनुसकारका तराकारीसँगै र बेमौसमी तरकारी समेत उत्पादन गर्न सकिने बताए । सिँचाईको सुविधा भएपछि यहाँका स्थानीयको आयआर्जनको स्रोत पनि बृद्धि हुने उनको विश्वास छ ।
बागमती प्रदेश सरकारको कुल ३६ लाख लागतमा सम्पन्न उक्त आयोजनाबाट १५ बिगाहा क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने बताइएको छ । भूमिगत सिँचाइ आयोजना प्रमुख केशव जैशीले आयोजनाले १० हर्सपावर क्षमताको पम्पमार्फत ८ लिटर प्रति सेकेन्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने जानकारी दिए ।
बुधबार सिँचाई आयोजनाको उद्धघाटन गर्दै कांग्रेसकी सह–महामन्त्री तथा पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले जल र मलको संयोजनबाट कृषि उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सकिने बताइन् । उनले रासायनिक मलका कारण माटोको उर्वराशक्ति कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै जैविक मलको प्रयोगमा जोड दिन् आग्रह गरिन् । स्थानीय सरकारहरूले किसानलाई जैविक मलमा अनुदान दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्याम बहादुर खड्काले कृषि उत्पादकत्व बढाउन सकिएमा नेपालमै रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै प्रदेश सरकारले कृषिलाई आफ्नो नीति तथा कार्यक्रम र बजेटमै प्राथमिकतामा राखेको दावी गरे । उनले प्रदेशका उर्वर जमिनमा मल, जल, बीउ र सिँचाइको उचित व्यवस्थापन गरेर स्थानीय स्तरमै रोजगारीको सम्भावना बढाउन् प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मि श्रेष्ठ, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, कांग्रेस नेता आनन्दराम पराजुली, पालिकाका पुर्व अध्यक्ष दामोदर गौतम लगाएतले कृषिमा आधारीत उद्योगधन्दा स्थापन गर्न सके युवा पलयान रोक्न सकिने बताए । उनीहरुले त्यसका लागि तीनै तहका सरकारहरुले कृषि क्षेत्रमा योजनबद्ध लगानी बढाउनुपर्नेमा जोड दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।