८ जेठ, हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट वित्तीय अनुशासन कायम राख्दै तर्जुमा गरिने स्पष्ट पारेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयक २०८२ का सिद्धान्त र प्राथमिकता सम्बन्धमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री काफ्लेले रणनीतिक महत्वका सडक निर्माण, विपद् जोखिम न्यूनीकरण र कृषि व्यवसायीकरणमा जोड दिइने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री काफ्लेले बजेट प्रणालीमा वित्तीय जवाफदेहितालाई अभिवृद्धि गर्दै संघीय शासन प्रणाली मार्फत विकास र समृद्धि हासिल गर्न वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए । ‘चालु खर्चमा कटौती, पुँजीगत खर्चमा वृद्धि गर्दै उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति लिइनेछ,’ मन्त्री काफ्फ्लेले भने, ‘यसले प्रदेशको समग्र आर्थिक उत्पादकत्व बढाउनेछ ।’
बजेट तर्जुमामा प्रदेशका स्रोत र साधनको यथोचित उपयोग सुनिश्चित गरिने उल्लेख गर्दै मन्त्री काफ्लेले छलफलमा सांसदहरूले प्रस्तुत गरेका सुझावहरूलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट तयार पारिने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रदेश सभाको अर्को बैठक जेठ १४ गते दिउँसो १ बजे बस्ने तय भएको छ । सो बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने सभामुख भुवनकुमार पाठकले जानकारी दिए । सभामुख पाठकले उक्त दिन सांसदहरूलाई निर्धारित समयभन्दा ३० मिनेट अगावै औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरे ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।