१३ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नवोदय बोर्डिङ स्कूलमा यही १५ जेठदेखि १७ गतेसम्म तीनदिने नवोदय मुन (नमुना संयुक्त राष्ट्रसंघ) कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
विद्यार्थीहरूमा नेतृत्व क्षमता, समालोचनात्मक सोच, वादविवाद सीप, सहकार्य, र व्यक्तित्व विकास लगायतका सीप अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । नवोदय नमुना संयुक्त राष्ट्र परिषद्का महासचिव निकेश श्रीवास्तवका अनुसार, कार्यक्रममा अन्तर्राष्ट्रिय नीति, योजना र विश्वस्तरका समस्या समाधानका विषयमा गहिरो छलफल हुने छ ।
‘वास्तविक संयुक्त राष्ट्रसंघको कार्यविधिलाई आधार मानेर सञ्चालित हुने यो कार्यक्रम विद्यार्थीहरूलाई वैश्विक मुद्दा र अन्तर्राष्ट्रिय सम्बन्धबारे व्यापक जानकारी दिनका लागि प्रभावकारी बनेको छ,’ उनले भने ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय मञ्चमा हुनेजस्तै वैश्विक बहस र नीति निर्माण प्रक्रियाको अभ्यास गर्नेछन् । संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा आधारित छलफल सत्रहरू सञ्चालन गरिने आयोजकको भनाइ छ ।
करिब ४ लाख रुपैयाँ बजेट अनुमान गरिएको कार्यक्रममा देशभरबाट करिब २५० जना विद्यार्थी सहभागी हुने जनाइएको छ । नवोदय बोर्डिङले विगत वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।