२० जेठ, हेटौंडा । कैलाश गाउँपालिका–८, भार्तामा सञ्चालन गरिएको एक महिने सिलाई कटाई तालिमको मंगलबार समापन गरिएको छ। कार्यक्रम वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
बैशाख १६ गतेदेखि सुरु भएको तालिममा १४ जना महिलाहरुले सहभागिता जनाएका थिए। तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले अघिल्लो वर्षझैं यस वर्ष पनि सिलाई तालिम सञ्चालन गरिएको उल्लेख गर्दै, महिलाहरुले प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे ।
‘कपडा सिलाउन अब मनहरी जानु पर्दैन, घरमै बसेर आफ्नो सीप प्रयोग गर्नुहोस्,’ अध्यक्ष मुक्तानले भने । उनले सीपसँगै मेशिन पनि उपलब्ध हुने जानकारी दिँदै, सीपले आर्थिक स्तरमा सुधार ल्याउने बताए ।
साथै, गाउँपालिकाको उद्देश्य ग्रामीण महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण रहेको भन्दै उद्यमशील बन्न प्रेरित गरे।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पनि जानेको सीपलाई आयआर्जनमा जोड्नुपर्नेमा जोड दिए । ‘मेशिन खिया नलागोस्, घरमै बसेर सीपको सदुपयोग गर्नुस्,’ उनले भने ।
तालिम पश्चात सहभागीहरुलाई थप तीन दिने उद्यमशीलता तालिम समेत प्रदान गरिएको थियो । गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत गाउँपालिकाको सहकार्यमा समाज सुधार तथा संरक्षण केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको हो।
समापन कार्यक्रममा तालिम संयोजक इन्दिरा न्यौपाने, वडा नम्बर ८ का सचिव प्रकाश अर्याल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, सिलाई तालिम प्रशिक्षक शान्ता थिङ, र उद्यमशीलता तालिम प्रशिक्षक मनोजकुमार साहलगायतको उपस्थिति रहेको थियो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।