२५ जेठ, हेटोँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले आफ्ना प्रतिनिधिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई परम्परागत वनउपज ‘चिउरी’ उपहारस्वरूप प्रदान गरेका छन् । बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत पठाइएको उक्त उपहार विशेष बाँसको टोकरी ‘पेरुङ्गो’ मा राखेर पठाइएको थियो ।
आइतबार उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त उपहारले केवल चिउरी मात्र नभई समुदायको विश्वास, संस्कृति र आशा पनि सँगै आएको अनुभूति भएको बताएको प्रदेश सांसद पाठकले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्रीले चिउरी प्रवद्र्धनमार्फत चेपाङ समुदायको आर्थिक समृद्धिको मार्ग खोल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
‘चेपाङ समुदायको जीवनशैली, परम्परा र जीविकोपार्जनसँग गहिरो सम्बन्ध रहेको चिउरीलाई प्रवद्र्धन गर्दै समृद्धिको आधार बनाउने सोचमा छु,’ प्रधानमन्त्री ओलीले भने, ‘वन स्रोतको दीगो उपयोग, जैविक विविधता संरक्षण र स्थानीय रोजगारी सिर्जनाका कार्यक्रम अघि बढाउँछु ।’ उनले परम्परागत ज्ञान, विशेषगरी आदिवासी जनजातिको सीप र जीवनशैलीप्रति सम्मान प्रकट गर्दै वनमा आधारित उद्यम विकासमा सरकारको ध्यान केन्द्रित हुने बताएका थिए ।
यसैविच सामुदायिक वन उपभोक्ता महासंघकी अन्तरराष्ट्रिय अध्यक्ष समेत रहेकी प्रदेशसभा सदस्य भारती पाठकले प्रधानमन्त्रीलाई भेट्दा चेपाङ समुदायजस्ता सीमान्तकृत वर्गको परम्परागत ज्ञान र वनमा आधारित जीवनशैलीलाई संरक्षण गर्दै उद्यम विकास गर्नुपर्नेमा जोड दिएकी छन् । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जनप्रतिनिधिमार्फत पठाइएको उपहारले समुदायको पहिचान बोकेको बताए । ‘चिउरी हाम्रो संस्कृति र सम्पत्तिसँग गाँसिएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले खुसी साथ उपहार ग्रहण गर्नुभएकोमा हामी हर्षित छौँ ।’
संस्कृति र दाइजोको प्रतीकः चिउरी
चिउरीको रूखलाई सम्पत्ति मानेर छोरीलाई विवाहपछि घर पठाउँदा दाइजोमा दिने परम्परा चेपाङ समुदायमा रहेको छ । यसकारण प्रकृतिसँग नजिक रहेर जीवन बिताउने यो समुदायका लागि चिउरी मात्र वनउपज नभई सांस्कृतिक धरोहर पनि हो । सरकारबाट चिउरी प्रवद्र्धनका कार्यक्रम सञ्चालन हुने संकेतले चेपाङ समुदायमा आशा पलाएको छ । परम्प
यसअघि बागमती प्रदेश सरकारले पनि सिमान्तकृत समुदाय चेपाङको उत्थानका लागि पहिचान र जीवन पद्धतिलाई जोगाउन ‘चिउरी र चमेरो’ संरक्षण कार्यक्रम सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत चेपाङ समुदायको बाहुल्यता रहेको प्रदेशका तीन जिल्लाहरू मकवानपुर, धादिङ र चितवनका ६ वटा पालिकाहरूसँग बागमती सरकारले सम्झौता समेत गरेको हो ।
मकवानपुरको राक्सिराङ, धादिङको गजुरी र बेनिघाट रोराङ तथा चितवनको राप्ती, कालिका र इच्छाकामना गाउँपालिकासँग प्रदेश सरकारले चिउरी र चमेरो संरक्षणको कार्यक्रम कार्यान्वयनका लागि चालू आर्थिक वर्ष ०८०–८१ मा ५० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ । कार्यक्रम स्थानीय तहको २० प्रतिशत र प्रदेश सरकारको ८० प्रतिशत साझेदारीमा कार्यान्वयन हुनेगरी सम्झौता गरेका हो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।