१७ असार, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको पछिल्लो विवादले नेपाली खेलाडीको भविष्यमा प्रतिकूल असर पार्ने देखिएपछि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गम्भीर चिन्ता व्यक्त गरेको छ।
संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खेलकुद नेतृत्व गर्ने संस्थाबीच समयसमयमा देखिने विवादको प्रत्यक्ष मार सधैं खेलाडीमाथि पर्न गएको छ। अहिलेको परिस्थितिले पनि खेलाडीको हक, अवसर र भविष्यमा प्रत्यक्ष असर पार्ने खतरा बढेको छ।’
खेलाडीको हित सुनिश्चित गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी भएको उल्लेख गर्दै संघले सेनेगलमा सन् २०२५ मा हुने युथ ओलम्पिक र जापानमा सन् २०२६ मा हुने २० औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता सुनिश्चित गर्न सबै पक्षलाई तत्काल पहल गर्न आग्रह गरेको छ ।
‘खेलाडी मर्कामा पर्दा नेतृत्वको औचित्यमाथि नै प्रश्न उठ्ने स्थिति बन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो अवस्थामा कसको कमजोरीले अवस्था आएको हो भन्ने बहसभन्दा पनि समाधान र सहभागिता सुनिश्चिततामा ध्यान दिनुपर्ने जरुरी छ।’
संघले युवा तथा खेलकुद मन्त्रालय, राखेप, एनओसी र राष्ट्रिय खेल संघहरूलाई खेलाडीको सहभागिता सुनिश्चित गर्न आवश्यक पहल र सहकार्य गर्न अनुरोध गर्दै जिम्मेवारी बोध गर्न आह्वान समेत गरेको छ।

Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।