१८ असार, हेटौंडा । भूमि समस्या समाधान आयोग मकवानपुरले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको पहिचान तथा प्रमाणीकरणलाई तीव्रता दिँदै हेटौंडा उपमहानगरपालिका वडा नं. १६ मा एकदिने अझिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बुधवार सम्पन्न कार्यक्रम वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा र आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष बलराम बलले आयोगले वडामा पहिचान भइसकेका भूमिहीन दलित र सुकुम्बासीहरूलाई पहिलो प्राथमिकतामा राखेर प्रमाणिकरण कार्य अघि बढाइरहेको जानकारी दिए। उनले प्रमाणीकरण भइसकेका फाइलहरू आयोगको कार्यालयमा पुगेको ६० दिनभित्र लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाए।
वडा अध्यक्ष कोइरालाका अनुसार वडामा हालसम्म भूमिहीन दलित र सुकुम्बासीको ५० वटा र अव्यवस्थित बसोबासीको ५३० वटा गरी कुल ५८० फाइल प्रमाणीकरण भइसकेका छन्। जसमध्ये ५३० फाइल कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको र बाँकी फाइलहरूको प्रविष्टि कार्य जारी रहेको उनले बताए।
आयोग सदस्य कविन सांगामीले वडा नं. १६ बाट प्रमाणीकरण भएका फाइलहरूमा कुल ५३० परिवारको पहिचान भइसकेको जानकारी गराए।
कार्यक्रममा स्वागत मन्तव्य वडा अध्यक्ष रामकृष्ण कोइरालाले राखेका थिए भने आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईंले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे।
नापी कार्यालय मकवानपुरका प्रमुख खीमबहादुर रानाले वडा तहबाट गर्नुपर्ने कामहरूको बारेमा प्रस्ट पार्दै सहकार्यको आवश्यकता औंल्याए।
कार्यक्रममा आयोगकी महिला सदस्य डिलमाया घर्ती, मालपोत कार्यालय मकवानपुरका इश्वरप्रसाद घिमिरे, वडा सचिव दुर्गाप्रसाद न्यौपाने, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
भूमि समस्या समाधान आयोग मकवानपुरले यसअघि जिल्लाका १० वटै स्थानीय तहका विभिन्न वडाहरूमा जिम्मेवारी, पहिचान, प्रमाणीकरण प्रक्रिया, र स्थानीय तहको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिसकेको छ। आयोगको अभियान आगामी दिनमा अझ सक्रिय रुपमा अघि बढ्ने बताइएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।