२५ साउन, हेटौँडा । परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो पर्व विशेष गरी काठमाडौं उपत्यकामा धुमधामका साथ आयोजना हुँदै आएको छ। सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परा यस पर्वको विशेषता हो। श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र नगद दान गर्ने प्रचलन छ। धार्मिक विश्वास अनुसार यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी पार गर्ने जनविश्वास छ।
यो पर्वको सुरुवात राजा प्रताप मल्लको पालामा भएको ऐतिहासिक तथ्य छ। पुत्रशोकले ग्रस्त रानीलाई संसारको शोक देखाउन उनले प्रजालाई आफन्तको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि हास्यव्यङ्ग्य र प्रहसनको प्रचलन सुरु भएको जनश्रुति छ।
हनुमानढोकास्थित राजदरबार हुँदै गाईजात्रा जुलुस लैजाने प्रथा आज पनि कायम छ। पाटनमा सत्ययुगको धान र चामलको नमूना तथा काठमाडौँको ठमेलमा स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष आकर्षण मानिन्छन्।
पञ्चायती शासनकालमा २०१७ सालको ‘कू’पछि गाईजात्रामा हास्यव्यङ्ग्य प्रतिबन्धित भए पनि २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहलमा फेरि सुरु गरिएको हो। अहिले गाईजात्रालाई सामाजिक विकृति र विसङ्गति उजागर गर्ने माध्यमका रूपमा पनि प्रयोग गरिन्छ।
काठमाडौं उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, दोलखा, इलाम, धरान, वीरगञ्ज, पोखरा लगायतका सहरमा पनि नेवार समुदायको विशेष सहभागितासहित यो पर्व मनाइन्छ। यस अवसरमा हाँस्य कलाकारहरूले विशेष कार्यक्रम आयोजना गर्ने परम्परा पनि कायम छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।