१५ भदौ, हेटौँडा । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज गौरापर्वको मुख्य दिन अर्थात् दुर्वाष्टमी ९अठ्यावाली० धार्मिक उत्साहका साथ मनाइँदैछ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली गौरा र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी गौरा भन्ने प्रचलन छ ।
गौरापर्वको अवसरमा हिजो बेलुका गौराघरमा भित्र्याइएको गौरालाई आज बिहानै बर्तालु महिलाले गौरामन्दिरको गौराखला (आँगन) मा पूजाआजाका लागि लगिएको हो । पण्डित जयानन्द भट्टका अनुसार, महिलाहरूले दिनभरि बिरुडा ९पाँच थरिका अन्न० चढाएर गौरा देवीको पूजा गर्दै अठ्यावाली गीत गाउँदै श्रद्धा प्रकट गर्ने परम्परा रहिआएको छ ।
हिजो गौरादेवीमा चढाइएको दुबधागो (मन्त्रिएको धागो) आज महिलाहरूले धारण गर्ने चलन छ । गौराघरबाट गौरालाई सिँगारेर गौराखलामा ल्याई सामूहिक पूजापाठ गर्ने परम्परा अझै जीवित छ । पूजापश्चात् मुख्य प्रसादका रूपमा रहेको बिरुडा आफ्ना श्रीमान्, छोराछोरी तथा आफन्तजनलाई अर्पण गर्दै दीर्घायु र सुखसमृद्धिको कामना गरिन्छ ।
यस अवसरमा पुरुषहरूले ठाडोखेल, ढुस्को धमारी जस्ता ऐतिहासिक संस्कृतिमा आधारित खेलकुदमा सहभागी हुने गरेका छन् । परदेशिएका परिवारका सदस्यहरू घर फर्किने र विवाहित चेलीहरू पनि माइती फर्किने भएकाले गौरापर्वले परिवार तथा समाजलाई एकत्रित गर्ने पर्वका रूपमा विशेष महत्व राख्छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेक अन्य क्षेत्रका बसोबासीले पनि यस पर्वलाई धुमधामका साथ मनाउने गरेका छन् । काठमाडौंको टुँडिखेलमा समेत देउडा गीत र नृत्य गरेर गौरापर्वको उल्लासमय वातावरण सृजना हुने परम्परा छ ।
यसैबीच, गौरापर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । संघीय सरकारले आज र प्रदेश सरकारले भोलि बिदा घोषणा गरेसँगै सुदूरपश्चिममा लगातार दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।