२४ फागुन, हेटौँडा । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि नेकपा (एमाले) मकवानपुरमा राजनीतिक हलचल देखिएको छ। जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
पोखरेलले आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमिक्षा आवश्यक भएको उनले उल्लेख गरेका छन्।
नेकपा माले हुँदै एमालेसम्मको आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्रा स्मरण गर्दै उनले अहिले पार्टीले भोगेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्ने बताएका छन्। समस्याको जरो नखोजी गोलमटोल भाषामा प्रतिक्रिया दिने र इर्ष्या तथा घमण्डपूर्ण प्रवृत्तिबाट समाधान सम्भव नहुने उनको भनाइ छ।
“यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन। त्यसैले तलदेखि माथिसम्म सबैले आत्मसमिक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो,” उनले फेसबुकमा लेखेका छन्।
पोखरेलले पार्टीलाई सही दिशामा अघि बढाउन शीर्ष नेतृत्वदेखि तल्लो तहसम्म सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमिक्षा गर्नुपर्ने बताएका छन्। आवश्यक परे नेतृत्व तहले जिम्मेवारी लिँदै राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि बाटो खोल्नुपर्ने उनको धारणा छ।
“पार्टी अध्यक्षदेखि महासचिवलगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमिक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वलाई बाटो प्रशस्त गर्नुपर्छ,” उनले उल्लेख गरेका छन्।
यसै सन्दर्भमा आजकै दिनदेखि लागू हुने गरी आफूले जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएको उनले बताएका छन्।
पोखरेलले अब आउने युवा पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने धारणा व्यक्त गर्दै उनीहरूलाई आफ्नो पूर्ण साथ र सहयोग रहने बताएका छन्। साथै उनले प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सबैप्रति जनमतको कदर गर्दै धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन्।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।