२४ फागुन, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित संभवत सबैभन्दा कान्छ सांसद प्रशान्त उप्रेतीले आफ्नो जितलाई जनताको जितको रूपमा व्याख्या गरेका छन् । २०५७ साल जेठ १० गते मकवानपुरको मनहरीमा जन्मिएका उनी अहिले २५ बर्ष १० महिनाका भए ।राष्ट्रिय स्वतन्त्र पार्टी । रास्वपाबाट निर्वाचित उनले निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै नागरिकहरूले परिवर्तनको चाहना व्यक्त गर्दै मतमार्फत स्पष्ट सन्देश दिएको बताए ।
‘यो हाम्रो भन्दा पनि जनताको जित हो । नागरिकहरूले परिवर्तन चाहनुभएको थियो र लोकतन्त्रमा आफ्नो सबैभन्दा ठूलो अधिकार प्रयोग गर्दै ब्यालेटमार्फत त्यसको उत्तर दिनुभएको छ,’ उनले भने । उनले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न इमान्दारपूर्वक काम गर्ने बताएका छन् ।
‘मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टी र मप्रति देखाउनुभएको विश्वासका लागि धन्यवाद दिन चाहन्छु । अब संसद्भित्र जाँदा हामीले गरेका प्रतिबद्धता र वाचाहरू पूरा गर्ने कुरामा पूर्ण रूपमा प्रतिबद्ध छौं,’ उनले नयाँ पत्रिकासँग भने । उप्रेतीले राष्ट्रिय स्वतन्त्र पार्टी नै आफ्नो पहिलो राजनीतिक दल भएको पनि बताएका छन् । यसअघि राजनीतिक बहस र विचारधारामा सक्रिय भए पनि कुनै दलमा औपचारिक रूपमा आबद्ध नभएको उनले उल्लेख गरे ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी नै मेरो पहिलो राजनीतिक दल हो । यसअघि राजनीतिक विचार र बहसमा सक्रिय भए पनि कुनै दलसँग आबद्ध थिइनँ । अब आगामी दिनमा रास्वपाबाटै मेरो राजनीतिक यात्रा अगाडि बढ्नेछ,’ उनले स्पष्ट पारे । यसपटकको निर्वाचन परिणामले धेरैलाई अचम्मित बनाएको उनको भनाई छ । जनताको भावना कागजी तथ्यांक र अनुमानभन्दा फरक हुन सक्ने भन्दै उनले यसपटकको परिणामले त्यसलाई पुष्टि गरेको उल्लेख गरे । उप्रेतीले मकवानपुरका नागरिकहरूले भोगिरहेका समस्या संसद्मा उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले नीतिगत र संरचनागत कारणले उत्पन्न भएका समस्याहरू समाधानका लागि पहल गर्ने बताएका छन् । ‘मकवानपुरका नागरिकहरूले भोगिरहेका समस्या संसद्मा उठाउनेछौं । यदि नीतिगत वा कानुनी कारणले यहाँका नागरिकलाई समस्या भइरहेको छ भने त्यसको समाधानका लागि पहल गर्नेछौं,’ उनले भने ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।