१८ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सिमराको नवजनजागृति क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै नवजनजागृतिले अन्तिम चारको यात्रा तय गरेको हो ।
शुक्रबार बागमती गाउँपालिका– ४ स्थित सहिद स्मृति रंगशालामा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो। खेलको सुरुवातमै आक्रामक देखिएको आर्मीले आठौँ मिनेटमा कप्तान भरत खवासको गोलमार्फत अग्रता लिएको थियो ।
पहिलो हाफमा १–० को अग्रता जोगाएको आर्मी दोस्रो हाफमा दबाबमा पर्यो। खेलको इन्जुरी समयमा नवजनजागृतिले बराबरी गोल फर्कायो। दोस्रो हाफको अतिरिक्त समयको ९३औँ मिनेटमा सन्तोष गोङ्बाले उत्कृष्ट गोल गर्दै खेल १–१ को अवस्थामा पुर्याएपछि मैदानमा रोमाञ्चकता थपिएको थियो।
टाइब्रेकरमा भने नवजनजागृति बढी संयमित देखियो। नवजनजागृतिका सुदीप लामा, रञ्जय चौधरी, विक्रम थोकर र सन्तोष गोङ्बाले प्रहारलाई गोलमा परिणत गरे। समीर नेपालीको प्रहार भने पोस्टमा ठोक्किएर फर्किएको थियो। आर्मीका तर्फबाट दिनेश हेन्जन, पेम्बा दोर्जे लामा र जिलेस्पिजंग कार्कीले गोल गरे पनि विमल पाण्डे र सुजन खत्रीको प्रहार नवजनजागृतिका गोलरक्षक युनेश चौधरीले उत्कृष्ट रूपमा बचाउ गरे।
उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले १० हजार रुपैयाँ पाउनेछन्।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।