३ फागुन,हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रती जनताको विश्वास बढेको दाबी गरेका छन् ।
मकवानपुरको बागमती गाउँपालिकामा सुरु भएको सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता र सहिद स्मृति रंगशाला उद्घाटन तथा कार्यकर्ता भेटघाट गर्दै उनले आफू देश दौडाहामा रहँदा नागरिकहरुबाट त्यस्तो सन्देश पाएको दाबी गरेका हुन् ।
नागरिकमा माओवादी प्रतिको विश्वास ह्वात्तै बढेको उनको दाबी छ । देश र जनताप्रति इमान्दार माओवादी नै परिवर्तनको सम्वाहक हो भन्ने विषय प्रष्ट भएको उनको भनाइ छ ।
सरकारमा वा सरकारबाट हटेपछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उनले बताए ।
‘म गएको ठाउँमा नागरिकको लागि काम गर्ने माओवादी नै रहेछ भन्ने अवस्था बनेको छ । माओवादीप्रतिको विश्वास अलिअलि होइन धेरै नै बढेको छ,’ उनले भने, ‘विचौलिया र भुमाफिया विरुद्ध अभियान चलाउँदा नागरिकहरुमा थोरै आशा पलाएको छ ।’
माओवादी प्रतिको लोकप्रियतालाई हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनले पनि प्रष्ट बनाएको उनले दाबी गरे । प्रेस युनियन र प्रेस चौतारी मिलेर निर्वाचनमा जाँदा पनि प्रेस सेन्टरले आफ्नो उपस्थिति जनाई राख्नुले त्यसलाई पुष्टि गरेको उनको भनाइ छ । उनले माओवादीको लागि यो अवसर भएको उल्लेख गर्दै यो अवसर सधैं नपाइने स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा नागरिकप्रति उत्तरदायी भएर काम गर्नुपर्छ भन्ने अठोट लिएर सरकारमा गएको बताए । माओवादीप्रतिको हस्तक्षेप विरुद्ध केही गर्ने संकल्पका कारण भ्रष्टाचार विरुद्धका अभियानहरु संचालन गरिएको उनको भनाइ छ ।
उनले भ्रष्टचारको अन्त्य नगरेसम्म देश नबन्ने दावी गरे । सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएकोले माओवादी कै नेतृत्वमा मात्रै देशबाट भ्रष्टाचारको अन्त्य गरेर सामाजिक न्याय स्थापित गर्न सकिने उनले स्पष्ट पारे ।
‘माओवादीको नेतृत्वमा मात्र देशमा सुशासन सम्भव छ भन्ने जनताले बुझेका छन्, उनले भने, ‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकता अनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्न हामी तयार हुनुपर्छ ।’
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी अघि बढ्ने तयारीमा रहेको पनि बताए । आउने निर्वाचनमा जाँदा क्लिन स्विप गर्ने गरी तयारी गर्न उनले पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।