२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु र निषेधाज्ञा हटेपछि सवारीसाधन सञ्चालनमा आएका छन् भने बजार र पसलहरू आंशिक रूपमा खुलेका छन् ।
यद्यपि शनिबार सरकारी बैंक, वित्तीय संस्था र शैक्षिक संस्थाहरू भने बन्द नै रहेका छन्। गत २३ भदौबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलन २४ गते हिंस्रक बनेपछि सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीका घटना भएको थियो। त्यसलगत्तै जिल्ला प्रशासन कार्यालयले दिउँसो निषेधाज्ञा र राति कर्फ्यु लागू गरेको थियो।
सुरक्षा व्यवस्था कायम राख्न जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त उपस्थिति रहेको हेटौँडामा प्रशासनले बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र आवतजावतको अनुमति दिएको थियो।
तर, शनिबार बिहानैदेखि बजार क्षेत्रमा चहलपहल देखिन थालेको थियो। सवारीसाधन गुड्न थालेपछि छोटो तथा लामो दुरीका यातायातसमेत सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज बिहान १० बजेबाट औपचारिक रूपमा कर्फ्यु र निषेधाज्ञा हटाइएको सार्वजनिक गरेको हो।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।