९ फागुन, हेटौँडा । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका हेटौँडा– १२ का अनुमप घलानको स्मृतिमा जारी १६ वर्षमुनिको हेटौँडा नगर स्तरीय फुटबल प्रतियोगितामा हेटौँडाको वडा नम्बर १५ र १८ फाइनल प्रवेश गरेको छन् । शुक्रबार भएको सेमिफाइनल खेलबाट १५ ले ८ र १८ ले ९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलमा १५ नम्बर वडाले ८ नम्बर वडालाई २–० गोल अन्तरले हरायो । १५ नम्बर वडाको जितका लागि दुवै गोल रोहित डिम्डुङले गरे । उनले खेलको १२ औं र ५१ औं मिनेटमा गोल गरेका थिए । यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा १८ नम्बर वडाले ९ नम्बर वडालाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनायो । खेलमा सुरुवाती अग्रता बनाएकोे ९ नम्बरले त्यसलाई जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरियो ।
९ नम्बर वडाका लागि सञ्जित कार्कीले पहिलो मिनेटमै गोल गरेका थिए । तर १८ नम्बर वडाका अभिराज थापा मगरले खेलको ३६ औं र ३९ औं मिनेटमा लगातार दुई गोल गर्दै टिमलाई जित दिलाए । यसअघि सेमिफाइनल प्रवेश गरेको १९ नम्बर वडाले १६ वर्ष भन्दा माथि उमेर समूहको खेलाडी खेलाएको प्रमाणित भएपछि दावी विरोध लागेको थियो । १९ नम्बर वडा प्रतियोगिताबाट बाहिरिएपछि उसको स्थानमा ८ नम्बर वडाले सेमिफाइनल खेलेको हो ।
फाइनल खेल शनिबार दिउँसो हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नगरका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको थियो । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको विजेता टिमले एक लाख तथा उपविजेता टिमले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र अन्य विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।