१० फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा साविक मछिन्द्र क्लब र चौथो संस्करणको विजेता थ्री स्टार भिड्नेछन् ।
दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछन् । प्रतियोगितामा मछिन्द्रले सर्लाहीको बागमती युवा क्लबलाई र थ्री स्टारले हिमालयन शेर्पालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । मचिन्द्र गत संस्करणको विजेता टोलि हो भने थ्री स्टार चौथो संस्करणको विजेता टोलि हो ।
गत संस्करणमा मछिन्द्रले विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै उपाधी जितेको थियो भने थ्री स्टारले चौथो संस्करणमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै उपाधी जितेको थियो ।
शनिबारको विजेता टोलिले उपाधीका लागि सोमबार चर्च ब्र्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।