१३ चैत, हेटौँडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा नियुक्त भएका शिक्षकहरुलाई पदस्थापन गरेको छ । शिक्षा आयोगबाट प्राथमिक तहका स्थायीमा नाम निकालेका शिक्षकहरुलाई योग्यताक्रम र शिक्षकले छनौट गरेको विद्यालयको आधारमा पत्र हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँ शिक्षा समितिका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस भएर कैलाश आएका शिक्षकहरूलाई पत्र हस्तान्तरण गरेका हुन् । पत्र हस्तान्तरण गर्दै उनले विद्यार्थीहरुलाई किताबको सिकाई मात्रै नभई व्यवहारिक सिकाई दिन पनि आग्रह गरे । ‘विकट क्षेत्रमा बसेर काम गर्नु चुनौतिसँगै अवसर पनि हो,’ उनले भने, ‘विद्यालयमा भर्ना भएका विद्यार्थीलाई अन्तिम परीक्षा सम्म कसरी टिकाउने भन्ने कुरा यहाँहरुको शिक्षणमा आधार रहन्छ ।’
विकट गाउँपालिकामा जिम्मेवारी लिएको भन्दै संकुचित भएर नबस्न गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले आग्रह गरे । उनले शिक्षकहरुलाई पर्ने हरेक समस्यामा गाउँपालिकासँगै रहेको पनि स्मरण गराए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले नवनियुक्त शिक्षकहरुलाई स्वागत गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह गर्न आग्रह गरेका थिए ।
गाउँपालिकाले माग गरे अनुरुप ३७ जना शिक्षकलाई पदस्थापना गरिएको शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख समीर जोशीले जानकारी दिए । शैक्षिक सत्र २०८१ मा गाउँपालिकामा छात्र दुई हजार पाँच सय २८ र छात्रा दुई हजार सात सय ५५ जना विद्यार्थी रहेको जोशीले बताए ।
उनका अनुसार गाउँपालिकामा ४७ वटा प्रारम्भिक बालविकास केन्द्र, कक्षा १ देखी ३ सम्मको १२ वटा, कक्षा एक देखी ५ सम्मको २३ वटा, कक्षा १ देखी ८ सम्मको ४ वटा, कक्षा १ देखी १० सम्मको ५ वटा र कक्षा १ देखी १२ सम्मको एक वटा विद्यालय सञ्चालनमा रहेका छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।