२३ असार, हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सोमबार प्रदेशसभाबाट बहुमतले पारित भएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्ताव सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गरेका थिए । सत्तारुढ दलका सांसदहरूले प्रस्तावको पक्षमा मत दिँदा विपक्षीले विरोध गरेका थिए । बहुमत पक्षको समर्थन सँगै सभामुख पाठकले बजेट पारित भएको घोषणा गरेका हुन् ।
बैठकले बजेटसँगै ल्याइएको पुरक प्रस्तावलाई पनि विनियोजन विधेयकको अङ्गका रूपमा बहुमतले पारित गरेको छ । विपक्षी सांसदहरूले बजेटमा खर्च कटौती गर्नुपर्ने मागसहित विभिन्न प्रस्ताव दर्ता गराए पनि ती सबै प्रस्तावहरू बहुमतले अस्वीकृत गरिएको थियो
बैठकमा सांसद देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाई, सुष्पा भुजेल, उर्मिला कुमारी लामा र सृजना सायजुले खर्च कटौतीका प्रस्ताव राखेका थिए भने आशा लामा र कुमारी तामाङले संयुक्त प्रस्ताव दर्ता गरेकी थिइन्, तर ती प्रस्तावहरु संसदमा प्रस्तुत हुन सकेन ।
बजेटमाथि आइतबार र सोमबार बिहान व्यापक छलफल भएको थियो । बजेटको पक्षमा मुख्यमन्त्री बहादुर सिंह लामा र मन्त्री काफ्लेले जवाफ दिएका थिए ।
यसअघि बजेट असार १ गते पेश गरिएपनि छलफल र सहमतिका लागि समय लागेपछि बैठकहरू स्थगित हुँदै आएका थिए। अन्ततः असार २० देखि थालिएको छलफलपछि आठ बुँदे सहमतिसहित बजेट पारित गरिएको हो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।