१३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेस संसदीय दलको नेताबाट पराजित भएका छन् । मंगलबार प्रदेश संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामा पराजित भएपछि अब उनीमाथि मुख्यमन्त्री पदबाट राजीनामाको दबाब बढेको छ।
मत विभाजनमा लामाका पक्षमा १५ मात्र सांसद देखिए भने कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँको पक्षमा २२ सांसदको बहुमत जुट्यो। कुल ३७ कांग्रेस सांसदमध्ये बहुमतले लामाविरुद्ध अविश्वास जनाएपछि उनी दलको नेतृत्व गुमाउन पुगेका हुन् ।
मुख्यमन्त्री परिवर्तनको तयारीस्वरूप कांग्रेसकै मन्त्रीहरूले अघिल्लो साता राजीनामा दिएका थिए। ९ साउनमा चार मन्त्रीले राजीनामा दिएका थिए भने सोमबार ऊर्जा, खानेपानी तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले पनि आफ्नो पद त्यागेका थिए ।
मुख्यमन्त्री लामाले आफ्नो विपक्षमा हस्ताक्षर गर्ने चार मन्त्रीलाई पदमुक्त गर्दै रिक्त मन्त्रालयहरूमा नयाँ मन्त्री नियुक्त गरेर सत्ता जोगाउने प्रयास गरेका थिए । तर अब संसदीय दलको नेताबाट हटेसँगै राजनीतिक रूपमा कमजोर बनेका उनलाई मुख्यमन्त्री पद त्याग्न दलीय र सार्वजनिक दबाब बढ्दै गएको छ।
अविश्वास प्रस्ताव बानियाँको नेतृत्वमा दर्ता भएको हो। यद्यपि लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवाको नजिकका नेताको रूपमा चिनिन्छन्। आन्तरिक प्रतिस्पर्धा र शक्ति सन्तुलनको संघर्षकै कारण बागमतीमा कांग्रेसभित्रको विवाद सतहमा आएको विश्लेषण गरिएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।