२३ भदौ, हेटौँडा । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध भएको जेनजी पुस्ताको देशव्यापी प्रदर्शन हिंसात्मक बन्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार, विभिन्न अस्पतालमा उपचाररत अवस्थामा मृत्यु हुनेहरूको संख्या बढ्दै गएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ३ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेज (केएमसी) मा २ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ।
यस्तै देशभर फैलिएका प्रदर्शनका क्रममा ३४७ जना घाइते भएको मन्त्रालयले जनाएको छ। तीमध्ये धेरैको उपचार विभिन्न सरकारी तथा निजी अस्पतालमा भइरहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। मन्त्रालयले अस्पतालहरूलाई आकस्मिक अवस्था व्यवस्थापनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ।
सरकार र जेनजीबीचको विवाद चर्किँदै जाँदा देशभर आन्दोलन हिंसात्मक बनेको र यसले गम्भीर मानवीय संकट निम्त्याएको मन्त्रालयको दावी छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।