२३ भदौ, हेटौँडा । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले गठबन्धनको औचित्य समाप्त भएको बताएका छन् ।
सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा थापाले जनतालाई सुशासन दिने उद्देश्यले बनेको सरकार जनअपेक्षा पूरा गर्न असफल भएको भन्द्यै गठबन्धनलाई निरन्तरता दिन औचित्य नरहेको बताएका हुन् । कांग्रेसले यसबारे गम्भीर पुनर्विचार गर्नुपर्ने उनको भनाई छ ।
‘सुशासन दिने उद्देश्यले बनेको यो सरकार जनअपेक्षा पूरा गर्न असफल भएको छ। त्यसैले यस गठबन्धनलाई निरन्तरता दिन औचित्य छैन। कांग्रेसले यसबारे गम्भीर पुनर्विचार गर्नुपर्छ,’ उनले भने । यस्तै महामन्त्री थापाले सोमबार भएको जेन–जीको प्रदर्शनमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । उनले सरकारले शान्तिपूर्ण आन्दोलनमा चरम दमन गरेको भन्दै घटनाको नैतिक जिम्मा प्रधानमन्त्रीकै कन्धामा जाने स्पष्ट पारे ।
‘आज युवा पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भए, त्यो दुःखद र अस्वाभाविक छ,‘ उनले भने, ‘आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले गरेको दमन अक्षम्य छ। यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ।’
उनले युवाहरूले आन्दोलनमार्फत उठाएका विषयहरू आम नागरिकका सरोकारका भएको उल्लेख गर्दै थापाले भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् । उनले २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने सुझाव दिए ।
यस्तै महामन्त्री थापाले सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्धप्रति पनि आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सरकारलाई जवाफदेही बनाउन महत्त्वपूर्ण मञ्च भएको उल्लेख गर्दै प्रतिबन्ध लगाउनु गलत निर्णय भएको र निर्देशिका नै संविधान र कानुनसम्मत नभएकाले यसलाई तत्काल खारेज गर्न उनले माग गरे ।
महामन्त्री थापाले आन्दोलनकारी युवासँग संयमता अपनाउन आग्रह गर्दै शान्तिपूर्ण आन्दोलन लोकतन्त्रको शक्ति भएकाले त्यसलाई हिंसात्मक बन्न नदिन संवादमार्फत अघि बढन आग्रह गरेका छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।