३० फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का टोल विकास संस्थाको संयुक्त बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ । वडाभित्रका २६ वटा टोल विकास संस्थाका प्रतिनिधि सहभागी बैठकले स्थानीय सरसफाइ, तालिम सञ्चालन तथा टोल व्यवस्थापनसँग सम्बन्धित विभिन्न सात निर्णय गरेको हेटौँडा ४ का वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिए ।
बैठकले वडाभित्रका सबै सडकलाई सरसफाइ गर्दै कच्ची, खाल्डाखुल्डी तथा हिलो–धुलोमुक्त बनाउन वडा कार्यालयले ल्याएको योजना २०८२ भित्र कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको उनको भनाई छ। यस्तै, वडा कार्यालयको आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा चैत्र १२ गते ‘भान्सा नै औषधालय’ कार्यक्रम वडा नम्बर ४ का सबै टोल विकास संस्थाको सहभागितामा सञ्चालन गर्ने निर्णय गरिएको छ । बैठकले वडा कार्यालयको समन्वयमा सञ्चालन हुने निःशुल्क मन्टेश्वरी तथा कुक तालिममा सूचनामा उल्लेखित मापदण्डका आधारमा प्रशिक्षार्थी सहभागी गराउने निर्णय पनि गरेको छ।
यसैगरी आगामी वैशाख महिनामा टोल विकास संस्थाका पदाधिकारीका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकले निर्माणाधीन रजत जयन्ती रोडको अधुरो काम अगाडि बढाउन सम्बन्धित निर्माण व्यवसायी तथा सरोकारवाला कार्यालयसँग पहल गर्ने निर्णय गरेको वडा अध्यक्ष सिग्देलले जानकारी दिए । साथै, टोल सरसफाइ र टोलमा देखिएका स–साना समस्या समाधानका लागि सबै टोल विकास संस्थाले आ–आफ्नो क्षेत्रमा अध्ययन र पहल गर्ने निर्णय पनि गरेको उनले बताए ।
बेठकले कार्यकाल अवधि सकिएर पनि साधारणसभा गर्न बाँकी रहेका टोल विकास संस्थालाई तत्काल साधारणसभा आयोजना गर्न आग्रह गर्ने निर्णय गरिएको छ।बैठकमा वडा वडा सदस्य गीता त्रिपाठी, सदस्य जगन्नाथ पाण्डे, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरी दाहाल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी तथा वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईंलगायतको सहभागिता रहेको थियो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।