२७ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाउने तयारी गरेको छ । भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबार बसेको बैठकले काठमाडौं उपत्यकासहित प्रदेशभर सञ्चालन हुने सवारी साधनको भाडा वृद्धि गर्न सिफारिस गरेको हो ।
प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख प्रविण श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीको भाडा साविकको दरभन्दा २५.९६ प्रतिशतसम्म बढाउन सिफारिस गरिएको छ । त्यसैगरी उपत्यका बाहिर सञ्चालन हुने यात्रुवाहक सवारी साधनको भाडा १७.३५ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव गरिएको छ । ट्याक्सीको भाडादर १२.३९ प्रतिशतले बढाउने तथा मालवाहक सवारी साधनको भाडा २६।७९ प्रतिशतले वृद्धि गर्ने निर्णय समितिले गरेको उनले जानकारी दिए ।
‘प्रदेश भाडा निर्धारणरसमायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८’ को नियम ४ को उपनियम (१)बमोजिम गठित समितिले नयाँ भाडादर निर्धारण गरी सिफारिस गरेको हो । उक्त समितिमा भौतिक पूर्वाधार विकास मन्त्रालयका महाशाखा प्रमुख संयोजक रहने व्यवस्था छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवस्था कार्यालयका प्रमुखहरू सदस्य रहने व्यवस्था छ ।
समितिले विद्युतीय सवारी साधनको भाडादर भने हाललाई यथावत राख्ने निर्णय गरेको छ । विद्युतीय सवारीको भाडादर २०७९ मै निर्धारण भइसकेकाले तत्काल कुनै फेरबदल नगर्ने निर्णय गरिएको महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भाडा समायोजनको सिफारिस गरिएको हो ।
समितिले सिफारिस गरेको नयाँ भाडादर स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि निर्णय प्रदेश राजपत्रमा प्रकाशित गरिनेछ । राजपत्रमा सूचना प्रकाशित भएपछि नयाँ भाडादर औपचारिक रूपमा लागू हुने श्रेष्ठले जानकारी दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।