५ फागुन, हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
महोत्सव उद्घाटनको अघिल्लो दिन सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै भोली मंगलबारदेखि १८ गतेसम्म हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
स्टल र स्टेज निर्माण, टिकटघर लगायतका पूर्वाधारको तयारी अन्तिम चरणमा रहेको संघका अध्यक्ष बालगोपल कँडेलले जानकारी दिए । महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने कार्यक्रम तय भएको छ ।
मंगलबार बिहान १०ः३० बजे हुप्रचौरबाट पारिजातपथ, बुद्धचोक हुँदै टिसिएन चौरसम्म शोभायात्रा समेत गरिने आयोजकले जनाएको छ ।
महोत्सवको दोस्रो दिन फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आईडलको प्रतियोगिता, राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । हेटौंडा आईडलमा प्रारम्भिक छनौटबाट १६ जना प्रतिस्पर्धी छानिसकेका छन् ।
निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीहरुको प्रदर्शनी तथा बिक्री समेत गरिने अध्यक्ष कँडेलले बताए । यस्तै निर्माण व्यवसायीसंगै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउन र निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौती, अवसरका बारेमा छलफल, गोष्ठी लगायतका अन्तरक्रियात्मक कार्यक्रम समेत हुने उनको भनाई छ ।
महोत्सवको अवधिमा निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरुका राय, सल्लाह, सुझाव समेत संकलन गरिने उनले बताए । महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्री लगायतका ३ सय ५० वटा स्टलहरु रहने छ ।
महोत्सवको प्रवेश शुल्क ७५ रुपैयाँ र विद्यार्थीको लागि ५० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । निर्माण व्यवसायी संघको नयाँ भवन निर्माण गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको संघका महासचिव राजेन्द्र चौलागाईंले बताए । संघको अहिले रहेको भवन जीर्ण भएपछि नयाँ भवन बनाउने उद्देश्य लिएर संघले महोत्सवको आयोजना गरेको हो ।
२०७१ सालमा पहिलो पटक महोत्सव गरेको संघले १० वर्षपछि महोत्सव गर्न लागेको हो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।