
आर्थिक अभावको मार खेपिरहेको हेटौँडा सिमेन्टको ‘रोप–वे’ बिक्री
५ फागुन, हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको रोप–वे अन्ततः बिक्री भएको छ । आर्थिक अभावको मार खेपिरहेको उद्योगले लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको हो । विगत ९ वर्षदेखि पटक÷पटक आफ्नो रोप–वे लिलामीको उद्योगको असफल प्रयास गर्दै आएको थियो ।
९ वर्षअघि पहिलो पटक रोप–वे लिलामी प्रक्रिया सुरु गरेको उद्योगको प्रयास हालसम्म सफल हुन सकेको थिएन । उद्योगले पटक–पटक लिलामी प्रक्रिया अघि बढाएर बोलपत्र आह्वान गरे पनि बन्द अवस्थाका उपकरण खरिद गर्न खरिदकर्ताको बोलपत्र परेको थिएन । खरिदकर्ताले लिलामी प्रक्रियामा बोलपत्र दर्ता नगराएपछि उद्योगले हरेक पटक लिलामी दर पनि घटाउँदै आएको थियो ।
बन्द अवस्थामा रहेको रोप–वे का उपकरणहरू लिलामीका लागि पहिलो पटक सूचना आह्वान गर्दा उद्योगले उक्त रोप–वे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृद्धि करबाहेक न्यूनतम ६ करोड १६ लाख ५३ हजार ३...