७ फागुन, हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको इतिहासमा ७ फागुन एक महत्वपूर्ण दिनको रूपमा रहेको बताएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै निरंकुशता विरुद्ध संगठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहाँनिया राणा शासनलाई परास्त गर्न सफल आजको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन भएको उल्लेख गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश, देश तथा विदेशमा रहेकाहरुलाई शुभकामना व्यक्त गरेका हुन् । ‘दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ, ‘स्वतन्त्रता र राष्ट्रहितका खातिर आफ्नो प्राणको आहुती दिने वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रती उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’
‘फागुन ७ को जगमा टेकेर आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । आजको दिनले इतिहासको यो गौरवशाली समय बिन्दुलाई पुनर्ताजगी गर्दै राष्ट्रिय एकता र स्वाभिमानलाई कायम राखी समृद्ध नेपाल निर्माणमा लाग्न हामी सबैलाई प्रेरित गर्दछ ।’ उनले सन्देशमा भनेका छन्।
आ–आफ्ना पार्टीगत स्वार्थलाई त्यागेर देश निर्माणको अभियानमा सम्पूर्ण राजनैतिक दलहरू होमिनुपर्ने आवश्यकता रहेको प्रदेश प्रमुख देवकोटाले औंल्याएका छन् । ‘हामीले फुटेर होइन, जुटेर नै राजनैतिक फड्को मारेका छौंं अब फेरि जुटेर हामीले मुलुकमा आर्थिक समृद्धि भित्र्याउनु छ,’ सन्देशमा भनिएको छ ।
विश्वमा भएका द्रुतगतिका परिवर्तनको लहर र नेपाली जनताको अपेक्षालाई आत्मसात् गरेर अघि बढ्नुबाहेक अर्को कुनै विकल्प नभएको उनले बताएका छन् । स्वतन्त्र र समतामूलक समाज निर्माणमा अघि बढ्न आजको दिनले थप प्रेरणा र हौसला दिने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख देवकोटाले समुन्नत राष्ट्र निर्माणको परिकल्पना साकार पार्न सबैमा उर्जाशीलता वृद्धिको अपेक्षा गरेका छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।