१० भदौ, हेटौँडा । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज देशभर धुमधामका साथ मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा पर्ने तीज पर्वमा महिलाहरूले व्रत बसेर भगवान शिव र पार्वतीको पूजा, उपासना गर्ने परम्परा छ । धार्मिक विश्वासअनुसार तीजमा व्रत बसी शिव–पार्वतीको पूजा गरे पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने मान्यता छ ।
हिजो दर खाएपछि औपचारिक रूपमा सुरू भएको तीज पर्व आज व्रतसहित मनाइँदैछ भने पर्सि ऋषि पञ्चमीसम्म पर्वको उत्सव जारी रहनेछ । बिहानैदेखि देशभरका शिवमन्दिरहरूमा भक्तजनको भीड लागेको छ । महिलाहरू राताम्मे लुगामा सजिएर शिव मन्दिर पुगेर पूजा–अर्चना गरिरहेका छन् ।
तीजमा निराहार व्रत बस्ने परम्परा भए पनि स्वास्थ्यकर्मीहरूले व्रत बस्दा विशेष ख्याल गर्न आग्रह गरेका छन् । उनीहरूको भनाइमा, निराहार व्रतले शरीरमा पानीको कमी भई बेहोस हुने अवस्था समेत आउन सक्ने भएकाले आवश्यक परे प्रशस्त पानी, फलफूल वा जुस सेवन गर्न सकिन्छ ।
धर्मशास्त्रमा पनि स्वास्थ्यअनुसार व्रत बस्ने व्यवस्था गरिएको छ । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार गरेर व्रत बस्न सकिने उल्लेख छ । विशेषगरी गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलफूल खाएर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ ।
आजको तीज पर्वले दिदीबहिनीबीच आपसी आत्मीयता, पारिवारिक एकता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।