२५ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजा र नाइट्राभेटसहित ३ जनालाई पक्राउ गरेको छ । अवैध लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरगढी गाउँपालिका २ शिखरकटेरीमा सुकौरा बुढीचौर हुँदै हेटौंडा बजारतर्फ आउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ना. २६ प ३६७१ नम्बरको मोटरसाइकलबाट हेटौँडातर्फ आउँदै गरेका दोलखा भिमेश्वर नगरपालिका ८ का २५ वर्षीय विजय थापा र मकवानपुरगढी गाउँपालिका ७ का ३५ वर्षीय सुनिल बोम्जन रहेका छन् । शंकाको आधारमा उनीहरुलाई खानतलासी गर्दा लुकाएर ल्याएको अवस्थाको २ किलो ५३० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाँजासहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यस्तै अवैध लागूऔषध नाइट्राभेटसहित मकवानपुर प्रहरीले रौतहटको मौलापुर नगरपालिका ९ का ३२ वर्षीय सुनिल सिंह पटेललाई हेटौंडाबाट पक्रेको छ । प्रहरी चौकी रातोमाटेको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमोटेमा चेकिङको क्रममा बा.प्र ०१–०३१ च ५०२२ नम्बरको गाडीबाट विभिन्न परिमाणको नाइट्राभेटसहित उनलाई पक्रेको हो ।
गाडीलाई रोकेर चेकिङ पटेलले बोकोको सुटकेस र झोलाबाट लागूऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले पटेलको सुटकेस र झोलाबाट लागूऔषध नाईट्राभेट ३ हजार ४४० ट्याब्लेट, ट्रामाडोल २ हजार ९५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुर्फिन ३९५ एम्पुल र डाईजेपाम ३८७ एम्पुल फेला पारेको हो । उनलाई जिल्ला अदालत मकवानपुरबाट एकहप्ताको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।