५ जेठ, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले प्लास्टिकजन्य भाँडाकुँडालाई विस्थापित गर्ने लक्ष्यसहित सालको पातबाट दुना, टपरी र कचौरा उत्पादन सुरु गरेको छ। गाउँमै उपलब्ध सालको पातको सदुपयोग गर्दै वातावरणमैत्री सामग्री उत्पादन गर्न थालिएको हो।
गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्यमा दुना–टपरीको व्यावसायिक उत्पादन सुरु गरिएको हो। यसका लागि गाउँपालिकाले १५ दिने तालिम संचालन गरी दक्ष जनशक्ति तयार पारिसकेको छ। तालिममार्फत सहभागीहरूले पातबाट विभिन्न सामग्री बनाउने सीप, गुणस्तर कायम गर्ने तरिका, मेसिनको प्रयोग विधि तथा बजार व्यवस्थापनबारे ज्ञान हासिल गरेका छन्।
गएको आइतबार सम्पन्न तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ र प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले दुना–टपरी बनाउने आधुनिक मेसिन सामुदायिक वन समूहलाई हस्तान्तरण गरेका थिए।
अध्यक्ष मल्लका अनुसार, प्लास्टिकजन्य सामग्री विस्थापन तथा न्यूनीकरण गर्न दुना–टपरीको प्रयोगलाई बढावा दिइनेछ। ‘निकट भविष्यमा गाउँपालिकाभित्र प्लास्टिकका भाँडाकुँडा प्रयोगमा रोक लगाउने योजना छ,’ उनले भने ।
पालिकाले सालको पातबाट दुना–टपरी उत्पादन गरिरहेका समूहलाई आत्मनिर्भर नभएसम्म अनुदान दिने नीति बनाएको अध्यक्ष मल्लले बताए। यस पहलमार्फत खेर जाने सालको पातको सदुपयोग गरी आर्थिक लाभ उठाउने विश्वास गरिएको उनको भनाई छ । तालिममा सहभागी महिलाहरूले दुना–टपरी उत्पादन सीप सिकेर आफूहरू आत्मनिर्भर बन्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरेका छन्।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।