२३ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले कृषि यान्त्रीकरण प्रवद्र्धन गर्दै कृषकहरूको उत्पादनशक्ति अभिवृद्धि र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्यसहित आधुनिक कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ ।
उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रम नगर कार्यालय परिसरमै सम्पन्न भएको हो । ‘स्वच्छ, उत्पादनशील, समृद्ध शहरः हेटौँडा’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा नगर प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानिया, आर्थिक विकास महाशाखा प्रमुख जग्गनाथ सापकोटा, कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मी लगायत जनप्रतिनिधि, कर्मचारी तथा लाभग्राही कृषकहरूको उपस्थिति रहेको थियो ।
कृषि विकास शाखाका अनुसार अनुदानमा वितरण गरिएको उपकरणमा १९ वटा हाते ट्याक्टर, ७१ वटा स्प्रे पम्प, ७९ वटा ज्याब प्लान्टर, १ थान कम्बाइन मिल, १ थान पानी तान्ने पम्प र ४१ वटा मकै छोडाउने मेसिन रहेका छन् ।
कार्यक्रममार्फत सहकारी संस्था, कृषि समूह र स्थानीय कृषकहरूलाई ५० प्रतिशत अनुदानमा उपकरण प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले यस्ता कार्यक्रमबाट कृषिमा आधुनिकीकरण भई उत्पादन र आम्दानी दुवैमा वृद्धि हुने अपेक्षा गरेको नगर प्रमुख लामाले बताइन् ।
उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा कृषि उपकरण तथा प्रविधि कृषकसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता कार्यक्रमले युवालाई कृषितर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।