२९ असार, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहमा आश्रय लिएकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन् ।
सांग्रीला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका ४८ वर्षीय प्रमुख मधुसूदन राउतलाई प्रहरीले काठमाडौंको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको छ र आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।
पीडित किशोरी चार वर्षदेखि सो बालगृहमा बस्दै आएकी थिइन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । उनी मामाघरको हजुरआमासँग बस्दै आएकी थिइन् र कमजोर आर्थिक अवस्थाका कारण बाल संरक्षणको उद्देश्यले खोलिएको सो होस्टेलमा राखिएकी थिइन् ।
किशोरीले दिएको जाहेरी अनुसार, जेठ १ देखि ८ गतेसम्मको अवधिमा राउतले बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेका थिए । असार ८ गते किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध जाहेरी दर्ता गरेकी थिइन् । तर, प्रारम्भिक समयमा राउत पक्राउ परेका थिएनन् ।
बालगृहमा हाल १५ जना बालिकाहरू रहेका छन् । घटना सार्वजनिक भएपछि बालगृहको व्यवस्थापन, सुरक्षास्थिति तथा सञ्चालन प्रक्रिया प्रश्नको घेरामा परेको छ । प्रहरीले बालगृहमा रहेका अन्य बालबालिकाको अवस्थाबारे पनि थप अनुसन्धान सुरु गरेको जनाएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।