१४ साउन, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा बानियाँले बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई आठ मतको अन्तरले पराजित गरेका हुन्।
प्रदेश सभा सचिवालय परिसरमा सम्पन्न निर्वाचनमा कुल ३७ सांसदमध्ये बानियाँले २२ मत प्राप्त गरे भने लामा १४ मतमा सीमित रहे। एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
यसअघि मंगलबार लामा नेतृत्वविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा पनि २२ मतले प्रस्ताव पारित भएको थियो। त्यससँगै लामा संसदीय दलको नेताबाट पदच्युत भएका थिए।
बानियाँ र लामाबीच यो दोस्रोपटकको प्रतिस्पर्धा हो। पहिलो पटक २०७९ पुस १३ मा भएको दलको निर्वाचनमा लामा २१ मतसहित विजयी हुँदा बानियाँ १६ मतमै सीमित भएका थिए। तर, यसपटक परिस्थिति पल्टिएको छ।
अविश्वास प्रस्ताव दर्ता भएपछि लामाको नेतृत्वमा रहेका पाँचजना मन्त्रीले राजीनामा दिँदै बानियाँको पक्षमा खुलेर समर्थन जनाएका थिए। यद्यपि, संसदीय दलको नेतामा पराजित भएका लामाले मुख्यमन्त्री पद नछाड्ने अडान दोहोर्याइरहेका छन्।
दुवै उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवानिकट भए पनि पछिल्लो नतिजाले लामाको पकड कमजोर हुँदै गएको प्रष्ट भएको छ। बानियाँको नेतृत्वमा संसदीय दल पुनर्संरचित भएसँगै बागमती कांग्रेसको आन्तरिक शक्ति सन्तुलन नयाँ ढाँचामा जाँदैछ भन्ने संकेत देखिएको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।