१८ असोज, हेटौंडा । शनिवार बिहानदेखि परिरहेको अविरल वर्षाका कारण बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरो र नदीनालाहरुमा जलसतह बढ्दा तटीय बस्ती उच्च जोखिममा पर्ने भन्दै भन्दै कांग्रेस बागमती प्रदेशले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
शनिबार बिहानैदेखि परेको वर्षा अझै तीन दिनसम्म निरन्तर रहने मौसमविद्हरूको प्रक्षेपणलाई उद्धृत गर्दै कांग्रेसले जारी विज्ञप्तिमा ठूला जनधन क्षतिको सम्भावना बढेकोले सचेत रहन आग्रह गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जारी गरेको अपिलमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले विपद् पूर्वतयारीमा जुटी सम्भाव्य जोखिम क्षेत्रको पहिचान गर्न, त्यहाँका नागरिकलाई पूर्वजानकारी दिन र तत्काल उद्धार तथा राहत परिचालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
यस्तै बडादशैंको अवसरमा टीका–आशीर्वाद लिन जाने र फर्कने क्रममा लामो दूरीको यात्रासमेत भइरहेको परिस्थितिमा अझै बढी सतर्कता आवश्यक रहेको कांग्रेसले जनाएको छ । अपिलमा, ‘तत्काल लामो दूरीको यात्रा नगर्न, असहज परिस्थितिमा आशीर्वाद ग्रहणका लागि सामाजिक सञ्जालको उपयोग गर्न, अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन तथा सुरक्षित स्थानमै रहेर आपसी सहयोगमा जुट्न अपलि गरिएको छ ।
अपिलमार्फत प्रदेश सभापति बानियाँले स्थानीय, क्षेत्रीय, जिल्ला र प्रदेश स्तरका संरचनामा रहेका पदाधिकारी तथा सदस्यलाई तत्कालीन उद्धार, राहत र स्थानान्तरण कार्यमा खटिन आह्वान गरेका छन् । त्यस क्रममा तीनै तहका सरकारी संयन्त्रसँग सहकार्य गर्दै बाढी, पहिरो र डुवानमा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई प्राथमिकता दिन उनले भनेका छन् ।
यस्तै विज्ञप्ति मार्फत कांग्रेस बागमती प्रदेश कार्यसमितिले विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, आवश्यक स्वास्थ्य उपचार, राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन कुनै कमी–कसर नराख्न पनि सरकारलाई अनुरोध गरेको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।